असोज ८, काठमाडौं । न्युयोर्कमा आयोजित उच्चस्तरीय कार्यक्रममा घानाकी प्रथम महिला लोर्डिना द्रमानि महामाले अफ्रिकी महिला तथा बालिकाको स्वास्थ्य, शिक्षा र आर्थिक सशक्तीकरणमा लगानी बढाउन अफ्रिकी नेतृत्व र अन्तर्राष्ट्रिय साझेदारलाई आग्रह गरेकी छन्।
अफ्रिकी प्रथम महिलाहरूको विकाससम्बन्धी संगठन ओएएफएलएडीको कार्यक्रममा बोल्दै उनले महिलाको स्वास्थ्यलाई अन्य सामाजिक तथा आर्थिक पक्षबाट अलग गरेर हेर्न नहुने बताइन्। मातृ स्वास्थ्य सेवासँग एचआईभी रोकथाम, स्वास्थ्य परीक्षण, पोषणलगायत आवश्यक सेवाहरूलाई एकीकृत गर्नुपर्नेमा उनले जोड दिइन्।
महामाले स्वास्थ्य क्षेत्रमा सुधारसँगै महिलाको शिक्षा, आर्थिक अवसर र लैंगिक समानतामा पनि ध्यान दिनुपर्ने बताइन्। उनका अनुसार स्वस्थ आमा, सुरक्षित वातावरणमा विद्यालय जान पाउने बालिका र आफ्नो जीविकोपार्जन गर्न सक्षम महिला भए त्यसको सकारात्मक प्रभाव परिवार हुँदै समुदाय र राष्ट्रसम्म पुग्छ।
उनले घानाले मातृ स्वास्थ्य, युवाको सशक्तीकरण र लैंगिक समानतालाई राष्ट्रिय विकास योजनामा समेट्दै आएको बताउँदै कुनै पनि महिला वा बालिका विकासको अवसरबाट बाहिर नपरोस् भन्नेमा जोड दिइन्।
कार्यक्रममा उनले अफ्रिकी देशहरूबीच सहकार्य र अन्तर्राष्ट्रिय साझेदारीलाई थप बलियो बनाउन पनि आग्रह गरिन्। गुणस्तरीय स्वास्थ्य सेवा, सम्मानपूर्वक जीवनयापन र आर्थिक अवसर केही सीमित व्यक्तिको सुविधा नभई अफ्रिकाका प्रत्येक महिला तथा बालिकाको अधिकारका रूपमा सुनिश्चित हुनुपर्ने उनको भनाइ थियो।