असोज ४, काठमाडौं । रसुवामा भोटेकोशी नदीमा आएको बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या देखिएका दुई महिलाको हवाई उद्धार गरिएको छ।
उत्तरगया गाउँपालिका–३ की ३० वर्षीया सुष्मा देवकोटा र उत्तरगया गाउँपालिका–४ की २६ वर्षीया अप्सरा भट्टलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो।
दुवै महिलालाई काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि ल्याइँदैछ। स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार तथा सुविधा उपलब्ध हुन नसकेपछि उनीहरूको हवाई उद्धार गरिएको जनाइएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाका प्रभावित क्षेत्रमा सडक तथा यातायात सेवा अवरुद्ध भएको छ। यसले आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधासम्पन्न अस्पतालसम्म पुर्याउन चुनौती थपिएको छ।
यस्तो अवस्थामा जटिल स्वास्थ्य समस्या भएका गर्भवती तथा सुत्केरी महिलाको जीवनरक्षाका लागि सम्बन्धित निकायबीच समन्वय गरी उद्धार तथा उपचारको व्यवस्था मिलाइएको जनाइएको छ।