असोज ४, काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत कराँते र उसूमा प्रतिस्पर्धा गरेका नेपाली खेलाडीहरू पदकको दौडबाट बाहिरिएका छन्।
कराँतेको महिला व्यक्तिगत काता विधामा नेपालकी सनुमाया थिङ अन्तिम १६ को खेलमा दक्षिण कोरियाकी चो हाउनसँग ५–० अंकले पराजित भइन्। दक्षिण कोरियाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ५ अंक प्राप्त गर्दा सनुमायाले अंक जोड्न सकिनन्। यससँगै उनको व्यक्तिगत काताको यात्रा टुंगिएको छ।
त्यस्तै, पदकको सम्भावना भएका नेपाली उसू खेलाडी विजय सिंजाली पनि प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन्। पुरुष चानक्वान इभेन्टमा उनले तीन चरणमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्।
चानक्वान विधामा मकाओका खेलाडीहरूले स्वर्ण र रजत पदक जितेका छन्।
यसैबीच, एसियाली खेलकुदअन्तर्गत साइक्लिङको प्रतिस्पर्धा पनि सम्पन्न भएको छ। साइक्लिङमा काजकस्तानले स्वर्ण जित्दा जापानले ट्रायाथलनबाट आफ्नो पहिलो स्वर्ण पदक हात पारेको छ। जापानका ताकुमी होजो देशका लागि पहिलो स्वर्ण जित्ने खेलाडी बने।