भदौ २६, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर महिलाले शिशु जन्माएको घटनामा सरकारले गम्भीरतापूर्वक छानबिन अघि बढाएको बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि समेत छानबिन भइरहेको जानकारी दिइन्।
घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा। सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा। अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको उनले बताइन्। टोलीमा मन्त्रालयका तर्फबाट स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखा प्रमुख डा। पवनजंग रायमाझी पनि सहभागी छन्।
मन्त्री मेहताका अनुसार मन्त्रालयले अस्पतालसँग घटनाबारे २४ घण्टे स्पष्टीकरण मागिसकेको थियो। अस्पतालले त्यसको जवाफसमेत पेस गरिसकेको छ।
मन्त्रालयलाई प्राप्त प्रारम्भिक विवरणअनुसार ३० वर्षीया बबिताकुमारी पासवान भदौ २४ गते बिहान करिब २ बजे प्रसवको अवस्थामा अस्पताल पुगेकी थिइन्। प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको थियो।
आवश्यक जाँचका रिपोर्ट उपलब्ध नभएकाले अति आवश्यक परीक्षण गर्न सुझाव दिइएको अस्पतालको प्रारम्भिक विवरणमा उल्लेख छ। त्यसपछि बबिता र उनका कुरुवा अस्पतालले उपलब्ध गराएको शय्यामा नरही अस्पतालबाट बाहिरिएको र बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिरै प्रसूति भएको जानकारी प्राप्त भएको मन्त्री मेहताले बताइन्।
शिशु जन्मिएपछि आमा र नवजात शिशुलाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याइएको थियो। ड्युटीमा रहेका स्वास्थ्यकर्मीले नाल काट्नुका साथै प्रसूतिपश्चात् आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै बस्न आग्रह गरे पनि उनीहरू अस्पतालबाट बाहिरिएको मन्त्रीको भनाइ छ।
मन्त्री मेहताले मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको बताइन्।
उनले छानबिन प्रतिवेदन प्राप्त भएपछि दोषी देखिएका व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारिन्।