भदौ २५, काठमाडौं । ग्यासको अभाव र कालोबजारीमा उद्यमी व्यवसायीको भूमिका रहेको अभिव्यक्ति दिएर विवादमा तानिएकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्।
मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर राजीनामा बुझाएकी हुन्।
बुधबार संसद्को उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले बजारमा ग्यासको अभाव हुनुमा ग्यास उद्योगी तथा व्यवसायीको बदमासी प्रमुख कारण रहेको आरोप लगाएकी थिइन्। उनले कर्मचारीहरूले समेत आफूलाई सहयोग नगरेको र उद्योगको लाइसेन्स दिन करोडौँ रुपैयाँको चलखेल हुने गरेको आरोप लगाएकी थिइन्।
उनको अभिव्यक्तिप्रति नेपाल उद्योग वाणिज्य महासंघ, ग्यास उद्योगी तथा व्यवसायीहरूले आपत्ति जनाएका थिए। यही विवादबीच मन्त्री यादवले त्यसको भोलिपल्ट राजीनामा दिएकी हुन्।
समिति बैठकमा मन्त्री यादवले नेपालमा रहेका ५८ वटा ग्यास उद्योगको संख्या घटाउनुपर्ने धारणा समेत राखेकी थिइन्। उनले नेपालजस्तो देशमा धेरै ग्यास उद्योग आवश्यक नरहेको भन्दै उद्योगहरू खारेज गर्नुपर्ने तर्क गरेकी थिइन्।
उनले ग्यास सहज रूपमा उपलब्ध गराउन उद्योगीहरूलाई कडाइ गर्नुपर्ने आफ्नो निष्कर्ष रहेको बताएकी थिइन्। साथै, कर्मचारीहरू उद्योगीको प्रभावमा काम गरिरहेको आरोप पनि उनले लगाएकी थिइन्।
मन्त्री यादव गत चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेकी थिइन्। यसअघि पनि उनी विभिन्न विषयमा विवादमा आएकी थिइन्।
पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा बाढी–पहिरोका कारण सडक र आयात प्रभावित हुँदा बजारमा ग्यासको अभाव देखिएको थियो। रसुवा बाढी तथा कृष्णभीरमा गएको पहिरोका कारण आपूर्ति प्रभावित भएपछि उपभोक्ताले ग्यास नपाएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो।
मन्त्री यादवको राजीनामासँगै अब आपूर्ति व्यवस्थापन तथा बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने विषयमा सरकारमाथि थप दबाब परेको छ।