असोज ८, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने कार्यसूची रहेको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। कानुनी सेवामा पहुँच कमजोर भएका नागरिकलाई सहायता उपलब्ध गराउने उद्देश्यसँग सम्बन्धित यो विधेयक महिला तथा आर्थिक रूपमा कमजोर समूहका लागि समेत महत्त्वपूर्ण हुनसक्ने विषय हो।
यसैगरी, प्रतिनिधिसभाको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
राष्ट्रियसभाको बैठक भने दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पनि राष्ट्रियसभामा प्रस्तुत गर्नेछन्। विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पनि सभामा पेस गरिनेछ।
यसै दिन कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक पनि बस्ने कार्यक्रम छ।