असोज ८, काठमाडौं । काठमाडौं महानगरपालिकाले महिलाको प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले स्वास्थ्यकर्मीलाई गर्भनिरोधक इम्प्लान्टसम्बन्धी तालिम दिन थालेको छ। महानगरपालिकाले स्वास्थ्य संस्थामार्फत लामो समयसम्म प्रभावकारी रहने गर्भनिरोधक विधिको सेवा सहज रूपमा उपलब्ध गराउने तयारी गरेको हो।
गर्भनिरोधक इम्प्लान्ट महिलाले प्रयोग गर्ने अस्थायी तथा लामो अवधिसम्म प्रभावकारी परिवार नियोजनको विधि हो। यसको प्रकारअनुसार तीन वा पाँच वर्षसम्म गर्भधारण रोक्न सकिने भएकाले परिवार नियोजनका लागि यो विकल्प उपयोगी मानिन्छ।
महानगरपालिकाले स्वास्थ्यकर्मीलाई आवश्यक ज्ञान तथा सीप प्रदान गरेर सेवा विस्तार गर्न लागेको जनाएको छ। तालिमपछि सम्बन्धित स्वास्थ्य संस्थाबाट इम्प्लान्टसम्बन्धी परामर्श तथा सेवा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।
महिलालाई आफ्नो स्वास्थ्य अवस्था, आवश्यकता र पारिवारिक योजनाअनुसार परिवार नियोजनको उपयुक्त विधि छनोट गर्न आवश्यक जानकारी तथा परामर्श उपलब्ध गराउनु पनि सेवाको महत्वपूर्ण पक्ष हुने बताइएको छ।