असोज ५, काठमाडौं । स्याङ्जामा पछिल्ला तीन आर्थिक वर्षमा २० वर्ष नपुगेका १०९ किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०र८१ मा ३७, २०८१र८२ मा ४२ र २०८२र८३ मा ३० जना २० वर्षमुनिका किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका हुन्। सो अवधिमा जिल्लाभर सुरक्षित गर्भपतन सेवा लिने कुल संख्या २ हजार ९१० रहेकोमा २ हजार ८०१ जना २० वर्षभन्दा माथिका थिए।
तथ्यांकअनुसार अधिकांश किशोरीले औषधिमार्फत सुरक्षित गर्भपतन सेवा लिएका छन्। आर्थिक वर्ष २०८०र८१ मा ३७ जनामध्ये ३० जनाले औषधिबाट र सात जनाले शल्यक्रियामार्फत सेवा लिएका थिए। २०८१र८२ मा ४२ जनामध्ये २७ जनाले औषधिबाट र १५ जनाले शल्यक्रियाबाट सेवा लिए। गत आर्थिक वर्षमा भने ३० जनामध्ये २८ जनाले औषधिबाट र दुई जनाले शल्यक्रियामार्फत सेवा लिएका थिए।
प्रदेश जनस्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत विनोदप्रसाद भट्टले केवल सुरक्षित गर्भपतन सेवाको तथ्यांकका आधारमा किशोरीको गर्भधारणलाई बालविवाहसँग जोडेर निष्कर्ष निकाल्न नमिल्ने बताएका छन्। उनका अनुसार गर्भधारणको कारण, विवाहको अवस्था, परिवार नियोजनका साधनमा पहुँच तथा किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानजस्ता पक्षलाई पनि सँगसँगै अध्ययन गर्न आवश्यक हुन्छ।