असोज ५, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले अल्जाइमर्स तथा डिमेन्सियाका लक्षण समयमै पहिचान गरी उपचार र सम्मानजनक हेरचाहमा ध्यान दिन आग्रह गरेकी छन्।
विश्व अल्जाइमर्स दिवस २०२६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले रोगका प्रारम्भिक संकेतबारे जानकारी राख्न, समयमै स्वास्थ्य परीक्षण तथा उपचार गराउन र स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गरेकी हुन्। यस वर्ष नेपालमा ‘जति छिटो हुन्छ ज्ञानस उति सहज निदान स् महत्वपूर्ण छ डिमेन्सियाको पहिचान’ भन्ने नारासहित दिवस मनाइँदैछ।
मन्त्री बादीले नेपालमा ज्येष्ठ नागरिकको जनसंख्या बढ्दै गएकाले अल्जाइमर्स तथा डिमेन्सियाको चुनौती पनि बढ्न सक्ने बताएकी छन्। त्यसका लागि प्रारम्भिक पहिचानसँगै स्वस्थ जीवनशैली, सन्तुलित खानपान, समयमै उपचार र उचित हेरचाह आवश्यक रहेको उनको भनाइ छ।
अल्जाइमर्स तथा डिमेन्सियाबाट प्रभावित व्यक्तिलाई रोगका कारण विभेद वा हेयभाव गर्न नहुनेमा पनि उनले जोड दिएकी छन्। प्रभावित व्यक्तिको सहयोग, संरक्षण र सम्मान सुनिश्चित गर्न परिवार, समुदाय, सरकार तथा सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताएकी छन्।
यसैगरी, विपद्का समयमा ज्येष्ठ नागरिकको सुरक्षा र संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने मन्त्री बादीले उल्लेख गरेकी छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले प्रभावित ज्येष्ठ नागरिकका लागि उद्धार, राहत, पुनःस्थापना, स्वास्थ्य तथा मनोसामाजिक सहयोगमा मन्त्रालयले सरोकारवालासँग समन्वय गर्ने प्रतिबद्धता जनाएकी छन्।
मन्त्री बादीले अल्जाइमर्स तथा डिमेन्सियाबारे समयमै जानकारी हासिल गरी प्रारम्भिक पहिचान र उपचारमा जोड दिन तथा प्रभावित व्यक्तिको सम्मान, सुरक्षा र आत्मसम्मान कायम राख्न साझा प्रयास आवश्यक रहेको बताएकी छन्।