असोज ८, काठमाडौं । चीनकी ६ वर्षीया लियान युनझीले रुबिक्स क्युबको ३×३ विधामा महिलातर्फको विश्व कीर्तिमान कायम गरेकी छन्। उनले पाँच पटकको प्रयासमा औसत ४.२७ सेकेन्डमा क्युब समाधान गर्दै आफ्नै केही दिनअघिको कीर्तिमानसमेत सुधार गरेकी हुन्।
लियानले यसअघि चीनको वुहानमा भएको विश्व क्युब एसोसिएसनबाट प्रमाणित प्रतियोगितामा ४.५२ सेकेन्डको औसत समय निकाल्दै महिलातर्फको कीर्तिमान बनाएकी थिइन्। त्यसको तीन दिनपछि ग्वाङ्झाउमा भएको अर्को प्रमाणित प्रतियोगितामा उनले ४.२७ सेकेन्डको औसत समय निकाल्दै आफ्नै कीर्तिमान तोडिन्।
लियानले एउटा प्रयासमा ४.०२ सेकेन्डको समयसमेत निकालेकी थिइन्। उनी महिलातर्फ ४।५ सेकेन्डभन्दा कम औसत समय निकाल्ने पहिलो स्पिडक्युबर बनेकी छन्। विश्व क्युब एसोसिएसनको सूचीमा पनि उनी ३×३×३ क्युबको महिलातर्फ सबैभन्दा छिटो औसत समय निकाल्ने कीर्तिमानधारीका रूपमा सूचीकृत छिन्।
लियानले चार वर्षको उमेरमा रुबिक्स क्युब समाधान गर्न सुरु गरेकी थिइन्। सुरुमा उनलाई एउटा क्युब समाधान गर्न करिब ९० सेकेन्ड लाग्ने गरेको थियो। अहिले उनले रुबिक्स क्युब समाधान गर्ने १ हजार ३०० भन्दा बढी सूत्र सिकिसकेकी छन् र दैनिक करिब दुईदेखि तीन घण्टा अभ्यास गर्ने गरेको बताइएको छ। उनका अभिभावकले उनलाई व्यावसायिक प्रशिक्षकबाट प्रशिक्षण लिन सांघाईसमेत लगेका थिए।
लियानकी आमाका अनुसार रुबिक्स क्युबले बालबालिकाको एकाग्रता, स्मरणशक्ति, तार्किक सोच र स्थानिक बुझाइ विकास गर्न सहयोग गर्न सक्छ। लियानको उपलब्धिले कम उमेरमै अन्तर्राष्ट्रिय स्तरको स्पिडक्युबिङमा नयाँ कीर्तिमान कायम गर्ने बालिकाका रूपमा उनको चर्चा बढाएको छ।