असोज १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले किसानका समस्या तत्काल सम्बोधन गर्दै राहत तथा वैकल्पिक व्यवस्था घोषणा गर्न सरकारसँग माग गरेकी छन्। उनले विशेषगरी मल तथा कृषि सामग्रीको अभावले किसान प्रभावित भइरहेको विषय संसद्मा उठाएकी हुन्।
सांसद कठरियाले सरकारले पर्याप्त मल मौज्दात रहेको दाबी गरे पनि किसानले खेतसम्म मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। किसानले आवश्यक समयमा मल र अन्य कृषि सामग्री नपाउँदा उत्पादनमा असर पर्न सक्ने उनको भनाइ छ।
उनले किसानका समस्या समाधानका लागि सरकारले तत्काल वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने, प्रभावित किसानसँग माफी माग्नुपर्ने र आवश्यक राहत तथा वैकल्पिक व्यवस्था घोषणा गर्नुपर्ने बताएकी छन्।
यसअघि सरकारले विपद् तथा जलवायुजन्य घटनाबाट कृषि क्षेत्रमा भएको क्षतिको राहत व्यवस्थापन प्रदेश सरकारमार्फत भइरहेको जनाएको थियो। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा भएको क्षतिको व्यवस्थापनका लागि प्रदेशका सम्बन्धित मन्त्रालयले कार्यविधि बनाएर बजेट तथा राहत परिचालन गरिरहेको बताएकी थिइन्।
किसानलाई समयमै मल, बीउ तथा आवश्यक कृषि सामग्री उपलब्ध गराउने विषयसँगै विपद्बाट भएको कृषि क्षतिको राहत र क्षतिपूर्ति व्यवस्थापन अहिले पनि सरकारका लागि प्रमुख विषय बनेको छ।