असोज १३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा बढाएको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योग संकटमा परेको भन्दै तत्काल संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै डाँगीले भारतले नेपाली जुट उत्पादनमा बढाएको एन्टी–डम्पिङ ड्युटी र जारी काउन्टरभेलिङ ड्युटी अनुसन्धानले स्वदेशी उद्योगमा प्रत्यक्ष असर परेको बताइन्। उनले समस्या समाधानका लागि सरकारले तत्काल कूटनीतिक पहल अघि बढाउनुपर्ने माग गरिन्।
डाँगीका अनुसार जुट उद्योग समस्यामा परे हजारौँ मजदुरको रोजगारी प्रभावित हुने तथा किसानले उत्पादन गरेको जुटले बजार नपाउने अवस्था आउन सक्छ। यसले कृषि क्षेत्रसँगै समग्र औद्योगिक उत्पादनमा समेत असर पार्न सक्ने उनले बताइन्।
उनले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने सरकारी पहल सकारात्मक भए पनि सञ्चालनमा रहेका जुट उद्योगलाई संरक्षण गर्न नसक्नु समस्या भएको बताइन्। उनका अनुसार सरकारले बन्द उद्योग सञ्चालन गर्ने नीतिसँगै अहिले सञ्चालनमा रहेका उद्योगलाई टिकाउन सक्ने दिगो औद्योगिक नीति पनि बनाउन आवश्यक छ।
सांसद डाँगीले औद्योगिक व्यवसाय ऐन, २०७६ को मर्मअनुसार जुट उद्योगको पुनरुत्थान प्रक्रिया तीव्र बनाउन तथा नेपाली जुटजन्य उत्पादनलाई भारतीय बजारमा सहज प्रवेश दिलाउन आवश्यक कूटनीतिक र वाणिज्यिक वार्ता अघि बढाउन सरकारसँग आग्रह गरेकी छन्।
भारतले नेपाली तयारी जुट उत्पादनमा एन्टी–डम्पिङ शुल्क ४ प्रतिशतबाट बढाएर १६ प्रतिशत पुर्याएपछि उद्योगीहरूले समेत यसले नेपाली जुट उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर पार्ने बताएका छन्।
Share this with your friends: