भदौ २०, काठमाडौं। बाढीमा बेपत्ता भएको आठ दिनसम्म खोज्दा पनि कुनै संकेत भेटिएन। चारतले घरसमेत बगाएर करिब सय मिटर तल पुर्याएको थियो। बाँच्ने सम्भावना लगभग समाप्त भएको ठानेपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गर्यो र काजकिरिया सुरु गर्यो।
तर त्यही परिवारका लागि शनिबार दिउँसो अकल्पनीय खबर आयो—६५ वर्षीया चण्डिका श्रेष्ठ जीवितै भेटिएकी छन्।
नुवाकोटको बेत्रावतीमा गेग्रानले पुरिएको घरभित्रबाट बाढी आएको ११औँ दिनमा उनको उद्धार भएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शनिबार दिउँसो उनलाई जीवितै निकालेर उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुर्याएको छ।
चण्डिकाका सम्धी रमेशमान श्रेष्ठका अनुसार परिवारले बाढी गएको आठौँ दिनसम्म उनको निरन्तर खोजी गरेको थियो। कुनै पत्तो नलागेपछि जीवित भेटिने सम्भावना नरहेको निष्कर्षमा पुगेर धार्मिक परम्पराअनुसार कुशको शव बनाई दाहसंस्कार गरिएको थियो।
“आठौँ दिनसम्म खोज्दा पनि भेटिनुभएन। अब सम्भावना छैन भन्ने भएपछि कुशको शव बनाएर दाहसंस्कार गर्यौँ र परिवारले काजकिरिया सुरु गरिसकेको थियो,” रमेशमानले अस्पतालमा सञ्चारकर्मीसँग भने।
बाढी आएलगत्तै चण्डिकाका ज्वाइँ गाडी र मोटरसाइकल लिएर उनको खोजीमा निस्किएका थिए। सडक अवरुद्ध भएपछि गाडी छाडेर मोटरसाइकलमा बनकालीतर्फ पुगे पनि क्षतिग्रस्त बाटोका कारण प्रभावित क्षेत्रसम्म पुग्न सम्भव भएन।
सुरुका दिनमा बाढीले थुपारेको लेदो र गेग्रान दलदलमा परिणत भएकाले परिवारका सदस्य मात्रै होइन, उद्धार टोलीलाई समेत चण्डिकाको घरसम्म पुग्न कठिन भएको थियो। पछि उनको घर बाढीले बगाएर त्रिशूली नदीको किनारतर्फ पुर्याएको पत्ता लागेको थियो।
चारतले घरको अधिकांश भाग ढुंगा, माटो र गेग्रानले पुरिएको थियो। माथिल्लो तलाको सानो अंश मात्रै बाहिरबाट देखिन्थ्यो। घर नै बगाएर सय मिटर तल पुर्याएको अवस्था देखेपछि परिवारमा चण्डिका जीवित हुन सक्ने आशा लगभग समाप्त भएको रमेशमान बताउँछन्।
परिवारका सदस्यले जोखिमबीच पनि धेरै दिनसम्म खोजी जारी राखे। तर बाढी प्रभावित क्षेत्रमा शव कुहिएको दुर्गन्ध फैलिएको र घरसम्म पुग्ने बाटोसमेत नभएपछि उनीहरू निराश भएर फर्किएका थिए। त्यसपछि परिवारको सल्लाहमा उनको प्रतीकात्मक दाहसंस्कार गरिएको थियो।
शनिबार दिउँसो करिब साढे १ बजे खोजीमा खटिएको सुरक्षाकर्मीको टोलीले गेग्रानमुनि पुरिएको घरको माथिल्लो भागबाट मानिस बोलेको मधुरो आवाज सुन्यो। ध्यान दिएर सुन्दा भित्रबाट ‘बचाऊ, बचाऊ’ भनिरहेको आवाज आएको थियो।
त्यसपछि टोलीले बाहिरबाट देखिएको सानो झ्यालको भाग फुटाएर भित्र प्रवेश गरेको थियो। त्यहाँ चण्डिका साँघुरो ठाउँमा हिलोमा डुबेको अवस्थामा जीवितै भेटिइन्। उद्धारकर्मीले सावधानीपूर्वक बाहिर निकालेर तत्काल अस्पताल पठाएका थिए।
उद्धार टोलीको प्रारम्भिक अनुमानअनुसार बाढीले घर बगाउँदा चण्डिका बेहोस भएकी र लामो समयपछि होसमा आएकी हुन सक्छिन्। यद्यपि, उनी यति लामो समयसम्म कसरी जीवित रहिन् भन्नेबारे स्वास्थ्य परीक्षण र उनको विस्तृत बयानपछि मात्रै स्पष्ट हुने बताइएको छ।
परिवारले मृत मानेर काजकिरिया गरिरहेकै बेला चण्डिका जीवित फर्किनुलाई आफन्तले चमत्कार मानेका छन्। बाढीको विनाश, परिवारको असह्य पीडा र ११ दिनसम्मको अनिश्चितताबीच भएको उनको उद्धारले निराश बनेका अन्य परिवारमा समेत आशाको नयाँ सञ्चार गरेको छ।