भदौ ३, काठमाडौं । महिला उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौंमा तीनदिने ‘सृजनशील उद्यमी मेला २०८३’ आयोजना हुने भएको छ।
सफ्टी प्रस्तुत २३औँ तीज फेस्टिभल २०२६ अन्तर्गत आयोजना हुने उक्त मेला भदौ ५, ६ र ७ गते अर्थात् अगस्ट २१ देखि २३, २०२६ सम्म सञ्चालन हुनेछ। मेला काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ।
महिला उद्यमशीलतालाई सशक्त बनाउने उद्देश्यसहित आयोजना हुन लागेको मेलामा एक सयभन्दा बढी प्रदर्शक सहभागी हुनेछन्। विभिन्न उद्यमी तथा व्यवसायीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्नेछन्।
मेलामा व्यवसायिक प्रदर्शनीसँगै महिला स्वास्थ्य शिविर, तीज विशेष खाद्य महोत्सव, निःशुल्क मेहन्दी कला तथा फोटोसुट, उपहार तथा डोर प्राइज र सांस्कृतिक कार्यक्रम विशेष आकर्षणका रूपमा रहनेछन्।
तीज पर्वको अवसर पारेर आयोजना हुन लागेको मेलाले महिला उद्यमीका उत्पादन तथा सिर्जनालाई उपभोक्तासम्म पुर्याउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।