असोज १, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले नेपालका व्यवसायी र किसान नीतिगत अनिश्चितता तथा प्रशासनिक झन्झटसँग दैनिक जुधिरहेको बताएकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद अधिकारीले व्यवसायी र किसानले मुलुकमै काम गर्न सक्ने वातावरण निर्माण हुने गरी सरकारले स्पष्ट र स्थिर नीति ल्याउनुपर्ने माग गरिन्। व्यवसायी र किसान आफ्नो भविष्यप्रति ढुक्क नभएसम्म अर्थतन्त्र तथा पुँजीबजार अघि बढ्न नसक्ने उनको भनाइ छ।
उनले आम नेपाली परिवार सीमित आम्दानी र बढ्दो खर्चको दबाबमा रहेको उल्लेख गर्दै अहिलेको मुख्य चुनौती सिथिल अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने रहेको बताइन्।
अधिकारीले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा देखिने आर्थिक परिवर्तनसँग जोड्नुपर्ने धारणा राखिन्। उनका अनुसार युवाले स्वदेशमै रोजगारी पाउनु, उद्यमीले नेपालमै व्यवसाय सञ्चालन गर्न सक्नु र परिवारले आफ्ना सन्तानको भविष्य नेपालमै सुरक्षित देख्न सक्नु राज्यको सफलताको महत्वपूर्ण आधार हुन्।
उनले विगतका राजनीतिक परिवर्तनमा जनताले मत, विश्वास र आशा दिए पनि त्यसअनुसार आर्थिक उपलब्धि हासिल हुन नसकेको बताउँदै अब राजनीतिक उपलब्धिलाई नागरिकको आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्।