असोज १, काठमाडौं । सांसद खनालले बाढी तथा प्राकृतिक विपत्तिमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न विद्यमान कानुनी व्यवस्थाअनुसार १२ वर्ष कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लामो समयसम्म बेपत्ता व्यक्तिका परिवारले अनिश्चितता र पीडा भोगिरहनुपर्ने अवस्था रहेको भन्दै यस विषयमा सरकारले तत्काल निर्णय गर्नुपर्ने बताए।
उनले विपत्तिमा बेपत्ता भएका व्यक्तिको अवस्था लामो समयसम्म अज्ञात रहेमा परिवारलाई राहत, क्षतिपूर्ति तथा अन्य कानुनी प्रक्रियामा समेत समस्या हुनेतर्फ सरकारको ध्यानाकर्षण गराए।
सांसद खनालले विशेष परिस्थितिमा बेपत्ता भएका व्यक्तिको हकमा छुट्टै कानुनी व्यवस्था गरी निश्चित समयपछि आवश्यक प्रक्रिया पूरा गरेर मृत घोषणा गर्न सकिने व्यवस्था गर्नुपर्ने धारणा राखे।
उनका अनुसार प्राकृतिक विपत्तिका कारण आफन्त गुमाएका परिवारलाई वर्षौंसम्म कानुनी निर्णयको प्रतीक्षा गराउनु व्यावहारिक नहुने भएकाले सरकारले यस विषयमा स्पष्ट र छिटो निर्णय लिन आवश्यक छ।