असोज ६, काठमाडौं । अमेरिकी पप स्टार टेलर स्विफ्टले ‘एमटीभी भिडियो म्युजिक अवार्ड्स’ (भीएमए) मा नयाँ कीर्तिमान बनाउने भएकी छन्। आगामी सेप्टेम्बर २७ मा लस एन्जलसमा आयोजना हुने समारोहमा उनलाई पहिलोपटक प्रदान गर्न लागिएको ‘आर्टिस्ट डाइरेक्टर अनर्स’ बाट सम्मानित गरिने भएको छ।
यो सम्मान प्राप्त गरेसँगै स्विफ्टको भीएमए अवार्ड संख्या ३१ पुग्नेछ। यसअघि उनी र बियोन्सेले समान ३० अवार्ड जित्दै भीएमए इतिहासमा सर्वाधिक पुरस्कार जित्ने कलाकारको कीर्तिमान साझा गरेका थिए। नयाँ सम्मानसँगै स्विफ्टले उक्त कीर्तिमान आफ्नो नाममा बनाउनेछिन्।
‘आर्टिस्ट डाइरेक्टर अनर्स’ म्युजिक भिडियो निर्माण तथा दृश्यात्मक कथावाचनमा कलाकारको निर्देशनात्मक योगदानलाई सम्मान गर्न यस वर्षदेखि सुरु गरिएको नयाँ विधा हो। स्विफ्टले आफ्ना विभिन्न म्युजिक भिडियो तथा फिल्ममा निर्देशनसमेत गर्दै आएकी छन्।
यस वर्षको भीएमएमा स्विफ्ट नौ विधामा मनोनयनमा परेकी छन्। ११ मनोनयनसहित म्याडोना सबैभन्दा धेरै विधामा मनोनयन हुने कलाकार हुन्। एरियाना ग्रान्डे र साब्रिना कार्पेन्टर समान सात विधामा मनोनयनमा छन्।
यसपटक सात वर्षदेखि स्थगित ‘बेस्ट डान्स’ विधा पनि पुनः सुरु हुँदैछ। त्यस्तै, प्रतिष्ठित ‘भिडियो भ्यानगार्ड अवार्ड’ रक ब्यान्ड निर्भानालाई प्रदान गरिने भएको छ। म्याडोनाले पनि २३ वर्षपछि भीएमए मञ्चमा प्रस्तुति दिने कार्यक्रम रहेको छ।
यस वर्षको भीएमए समारोह स्नुप डगले सञ्चालन गर्नेछन्। विभिन्न १३ विधामा फ्यान भोटिङ भइरहेको छ भने ‘बेस्ट न्यू आर्टिस्ट’ को मतदान समारोहकै क्रममा पनि जारी रहने आयोजकले जनाएको छ।