असोज ६, काठमाडौं । जापानमा जारी एसियाली खेलकुद २०२६ अन्तर्गत भारतको महिला हक्की टोलीले इन्डोनेसियामाथि १७–१ को फराकिलो जित निकालेको छ। योसँगै भारतले समूह ‘बी’ मा लगातार दोस्रो जित दर्ता गरेको छ। यसअघि भारतले उज्बेकिस्तानलाई १९–० ले पराजित गरेको थियो।
इन्डोनेसियाविरुद्धको खेलमा दीपिका सेहरावत, रुतुजा दादासो पिसाल र नवनीत कौरले समान तीन–तीन गोल गर्दै ह्याट्रिक पूरा गरे। लालरेम्सियामी, सुनेलिता टोप्पो र साक्षी रानाले दुई–दुई गोल गरे भने कप्तान सलीमा टेटे र इशिकाले पनि एक–एक गोल गरे।
यस खेल भारतकी अनुभवी गोलरक्षक सविता पुनियाका लागि भने विशेष रह्यो। इन्डोनेसियाविरुद्ध मैदानमा उत्रिएसँगै उनले भारतका लागि आफ्नो ३२१औँ अन्तर्राष्ट्रिय खेल पूरा गरिन्। यससँगै उनले पूर्व खेलाडी वन्दना कटारियाको ३२० खेलको कीर्तिमान तोड्दै भारतीय महिला हक्की इतिहासमै सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेकी छन्।
सविताले सन् २००९ मा भारतको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेकी थिइन्। उनले तीन ओलम्पिकसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतको प्रतिनिधित्व गरिसकेकी छन्। उनको उपलब्धिको सम्मानमा हक्की इन्डियाले १० लाख भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेको छ।
भारतले अब एसियाली खेलकुदको समूह चरणमा थाइल्यान्डसँग खेल्नेछ भने त्यसपछि आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ।