असोज ५, काठमाडौं । इन्डोनेसियाका राष्ट्रिय प्रहरी प्रमुख जनरल लिस्त्यो सिगित प्रबोवोले महिलाहरू परिवर्तनका सहभागी मात्र नभई परिवर्तनको नेतृत्वसमेत गर्न सक्ने बताएका छन्। उनले महिलाको सहभागिता र नेतृत्वलाई विभिन्न क्षेत्रमा थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
बालीमा आइतबार सुरु भएको अन्तर्राष्ट्रिय महिला प्रहरी संघको ६३औँ वार्षिक प्रशिक्षण सम्मेलनमा बोल्दै प्रहरी प्रमुख सिगितले यस्तो बताएका हुन्। यस वर्षको सम्मेलनको मुख्य विषय ‘महिलाद्वारा विश्वव्यापी परिवर्तनको नेतृत्व’ रहेको छ।
उनका अनुसार लैंगिक समानतासम्बन्धी चुनौती अझै कायम रहेकाले महिलाको भूमिका र नेतृत्वलाई बलियो बनाउन आवश्यक छ। उनले विश्व आर्थिक मञ्चको सन् २०२५ को विश्वव्यापी लैंगिक अन्तरसम्बन्धी प्रतिवेदनलाई उद्धृत गर्दै पूर्ण लैंगिक समानता हासिल गर्न अझै लामो समय लाग्ने अनुमान गरिएको बताए।
इन्डोनेसियाको प्रहरी संगठनमा पनि महिला प्रहरीको भूमिका विस्तार हुँदै गएको उनले बताए। इन्डोनेसियामा सन् १९४८ देखि महिला प्रहरी सेवामा रहेको र हाल ४ लाख ५० हजारभन्दा बढी प्रहरीमध्ये करिब २९ हजार अर्थात् ६ दशमलव २ प्रतिशत महिला प्रहरी रहेको जनाइएको छ।
प्रहरी प्रमुख सिगितले सन् २०२३ मा आफूले अन्तर्राष्ट्रिय महिला प्रहरी संघबाट प्राप्त गरेको ८८‘हिफरसे पुरस्कार’८८लाई महिलाको समानता र महिला प्रहरीका लागि थप अवसर विस्तार गर्ने जिम्मेवारीको स्मरणका रूपमा लिएको बताए। महिला प्रहरीले उत्कृष्ट काम गरेबापत प्रदान गरिने यो पुरस्कारमार्फत पनि महिलाको नेतृत्व र उपलब्धिलाई प्रोत्साहन गरिँदै आएको छ।
सम्मेलनमार्फत विभिन्न देशका महिला प्रहरीले आफ्नो क्षमता विकास गर्नुका साथै अनुभव, ज्ञान र कार्यसम्बन्धी अभ्यास आदानप्रदान गर्ने अवसर पाउने अपेक्षा गरिएको छ। विभिन्न देश, पृष्ठभूमि र अनुभव भए पनि महिला प्रहरीहरूबीच परिवर्तनका लागि सहकार्य गर्न सकिने सन्देश सम्मेलनले दिएको छ।
इन्डोनेसियामा भइरहेको यो सम्मेलनमा ४३ देशका करिब ४५० महिला प्रहरी सहभागी छन्। सम्मेलन सेप्टेम्बर २० देखि २४ सम्म बालीमा सञ्चालन हुँदैछ।