असोज ५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सचेतक क्रान्तिशिखा धितालले भोटेकोशी बाढी प्रभावित परिवारलाई राहत तथा राज्यबाट प्राप्त हुने सेवासुविधाका लागि आवश्यक कागजी प्रक्रियामा थप अल्झाउन नहुने बताएकी छन्। उनले प्रभावित नागरिकका समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकी हुन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले भोटेकोशी बाढी गएको करिब एक महिना पुग्न लाग्दा पनि ठूलो संख्यामा मानिसको अवस्था अझै यकिन हुन नसकेको बताइन्। उनका अनुसार हालसम्म १ हजार ४५१ जनाको मृत्यु पुष्टि भएको छ भने ५ हजार ७८६ जना अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीन आफन्तको अवस्था पत्ता लाग्ने आशामा रहेका परिवारहरू अब कठिन अवस्थामा पुगेको उल्लेख गर्दै उनले केही परिवारले परम्परागत विधिअनुसार अन्तिम संस्कारसमेत अघि बढाइसकेको बताइन्। तर मृत्युको औपचारिक तथा निश्चित कागजी प्रमाण नहुँदा कानुनी र प्रशासनिक प्रक्रिया पूरा गर्न उनीहरूलाई समस्या भइरहेको उनको भनाइ छ।
धितालले प्रभावित परिवारका लागि नागरिकको कानुनी हैसियत कायम गर्ने, सम्पत्ति हस्तान्तरण तथा राज्यबाट प्राप्त हुने सेवा–सुविधा सहज बनाउने तत्कालीन न्यायिक र प्रशासनिक व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।
उनले राहत तथा सामाजिक सुरक्षा उपलब्ध गराउने कार्यविधि निर्माणमा ढिलाइ गर्दा बाढी प्रभावित नागरिक थप अन्योलमा पर्ने भन्दै प्रक्रिया छिटो टुंग्याउन सरकारको ध्यानाकर्षण गराइन्।
यसैबीच, जिल्ला प्रशासन कार्यालय रसुवाले भोटेकोशी बाढी प्रभावितका लागि बसोबास तथा जीविकोपार्जन अनुदान वितरणसम्बन्धी प्रक्रिया सार्वजनिक गरिसकेको छ।