असोज ६, काठमाडौं । विश्व आर्थिक मञ्चको विश्वव्यापी लैङ्गिक अन्तर सूचकांक २०२६ मा बंगलादेश ५५ स्थान तल झरेर ७९औँ स्थानमा पुगेको छ। १४५ देश तथा अर्थतन्त्रलाई समेटिएको यस वर्षको सूचकांकमा बंगलादेशले लैङ्गिक अन्तरको ७१.२ प्रतिशत हिस्सा पूरा गरेको देखिएको छ, जुन अघिल्लो वर्षको ७७.५ प्रतिशतभन्दा ६.२ प्रतिशत बिन्दुले कम हो।
सन् २०२५ मा बंगलादेश ७५ स्थान माथि उक्लिँदै २४औँ स्थानमा पुगेको थियो। तर २०२६ मा राजनीतिक सशक्तीकरण तथा आर्थिक सहभागितासम्बन्धी सूचकमा आएको गिरावटका कारण उसको समग्र स्थानमा ठूलो परिवर्तन आएको हो।
विश्व आर्थिक मञ्चका अनुसार बंगलादेशको आर्थिक सहभागिता तथा अवसर सूचकमा लैङ्गिक अन्तरको ४१.९ प्रतिशत मात्र पूरा भएको छ। अघिल्लो वर्षको तुलनामा अनुमानित आम्दानी, श्रमशक्ति सहभागिता र वरिष्ठ तहको नेतृत्वमा महिला–पुरुष समानताको स्तरमा कमी आएको रिपोर्टले देखाएको छ।
त्यसैगरी, राजनीतिक सशक्तीकरणमा बंगलादेश विश्वमा १२औँ स्थानमा रहेको छ। यस क्षेत्रमा लैङ्गिक अन्तरको ५०.९ प्रतिशत हिस्सा पूरा भएको छ। यद्यपि संसद्मा महिला प्रतिनिधित्वसम्बन्धी समानताको स्तर २.४ प्रतिशतमा झरेको रिपोर्टमा उल्लेख छ।
शिक्षाको क्षेत्रमा भने बंगलादेशले सुधार कायम राखेको छ। सन् २०२६ मा शैक्षिक उपलब्धितर्फ लैङ्गिक अन्तरको ९६.१ प्रतिशत हिस्सा पूरा भएको छ। प्राथमिक र माध्यमिक तहमा महिला–पुरुषबीच समानता कायम रहे पनि उच्च शिक्षामा अझै अन्तर रहेको रिपोर्टले जनाएको छ। स्वास्थ्य तथा जीवन प्रत्याशासम्बन्धी सूचकमा भने ९६ प्रतिशतको समानता कायम छ।
दक्षिण एसियामा बंगलादेश लगातार १२औँ वर्ष लैङ्गिक समानताको सूचकमा पहिलो स्थानमा रहेको छ। यस क्षेत्रमा नेपाल १२०औँ, माल्दिभ्स ११९औँ, भुटान १२१औँ, श्रीलंका १२९औँ र भारत १३१औँ स्थानमा छन्।
विश्वव्यापी रूपमा आइसल्यान्ड ९३ प्रतिशत लैङ्गिक अन्तर बन्द गर्दै पहिलो स्थानमा छ भने फिनल्यान्ड र नर्वे क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।