असोज ६, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया ९उर्मिला० ले लोकतान्त्रिक सरकारले नागरिकका प्रश्न, असहमति र आलोचनालाई सुन्न सक्ने क्षमता राख्नुपर्ने बताएकी छन्। उनले आलोचनालाई दबाउनेभन्दा त्यसबाट सिक्दै सरकार जनताप्रति जवाफदेही बन्नुपर्ने धारणा राखेकी हुन्।
प्रतिनिधिसभामा बोल्दै सांसद थपलियाले सरकार जनताका गुनासा र आलोचनाबाट टाढिन नहुने बताइन्। उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा नागरिकले सरकारका कामकारबाहीमाथि प्रश्न उठाउन र आफ्ना असहमति व्यक्त गर्न पाउने अधिकार हुन्छ।
उनले सरकारको प्रभावकारिता नागरिकका आवाज सुन्ने र उठेका प्रश्नको सम्बोधन गर्ने क्षमतासँग जोडिने बताइन्। आलोचनालाई कमजोरीका रूपमा लिनुभन्दा त्यसलाई सुधारको अवसरका रूपमा ग्रहण गर्नुपर्ने उनको भनाइ थियो।
सांसद थपलियाले लोकतान्त्रिक अभ्यासमा संवाद र जवाफदेहिताको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन्। सरकार र नागरिकबीच निरन्तर संवाद कायम भएमा जनविश्वास बलियो बनाउन सहयोग पुग्ने उनको धारणा थियो।
उनको अभिव्यक्ति संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कारले लोकतन्त्र बलियो हुने बताएको केही दिनपछि आएको हो।