असोज ६, काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य गीता अधिकारीले पार्टीले सामूहिक नेतृत्व र जिम्मेवारी स्वीकार गर्ने हो भने त्यसको अपजस पनि अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै दिन नमिल्ने बताएकी छन्।
एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै अधिकारीले सामाजिक सञ्जालमार्फत जिम्मेवारी सामूहिक रूपमा लिने तर कमजोरी र अपजस भने एक जना नेतामाथि मात्रै थोपर्ने प्रवृत्तिले पार्टीलाई बलियो बनाउन नसक्ने धारणा राखिन्। उनले अहिले पार्टीभित्र आरोप–प्रत्यारोपभन्दा आन्तरिक एकता र आगामी कार्ययोजनालाई प्राथमिकता दिनुपर्ने बताइन्।
उनका अनुसार पार्टीभित्र मतभिन्नता हुनु स्वाभाविक भए पनि त्यसलाई पार्टीका विधि, कमिटी र संस्थागत प्रक्रियामार्फत समाधान गर्ने संस्कार विकास गर्न आवश्यक छ। एकता कार्यकर्ताको तहमा मात्र नभई नेताहरूबीच पनि देखिनुपर्नेमा उनले जोड दिइन्।
अधिकारीले निर्वाचन परिणामको समीक्षा गर्दा बाह्य कारणलाई मात्र जिम्मेवार नठहराई पार्टीभित्रका संगठनात्मक कमजोरी, जनतासँग बढेको दूरी, युवासँग पर्याप्त संवाद हुन नसकेको अवस्था तथा सञ्चार क्षेत्रमा देखिएका कमजोरीलाई समेत आत्मसमीक्षाको विषय बनाउनुपर्ने बताइन्।
मंगलबारको बैठकमा महासचिव शंकर पोखरेलको मन्तव्यपछि पार्टीभित्र एकताको सकारात्मक सन्देश गएको अधिकारीको दाबी थियो। उनले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उल्लेखित वास्तविकताको बोधलाई अब सुधारका ठोस योजनामा रूपान्तरण गर्नुपर्ने धारणा पनि राखिन्।
एमालेमा पछिल्लो समय नेतृत्व, पार्टी पुनर्गठन तथा आगामी कार्यदिशालाई लिएर आन्तरिक बहस चलिरहेको छ। यसैबीच केन्द्रीय कमिटी बैठकमा नेताहरूले पार्टीको संगठनात्मक अवस्था र नेतृत्वको भूमिकाबारे विभिन्न धारणा राखिरहेका छन्।