भदौ २५, काठमाडौं । भोटेकोशी क्षेत्रमा गएको बाढी–पहिरो तथा अन्य समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकले बाढीपीडितको उद्धार र राहतलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।
बैठकमा रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित जिल्लामा भइरहेको उद्धार तथा राहत वितरणको अवस्थाबारे समीक्षा गरिएको थियो। सरकारले गरिरहेको उद्धार कार्यको प्रगति, आगामी दिनमा यसलाई कसरी निरन्तरता दिने र देखिएका कमजोरी कसरी सुधार गर्ने भन्ने विषयमा छलफल भएको हो।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारबाट भइरहेको उद्धार तथा राहत वितरणको समीक्षा गर्दै कामलाई अझ प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको बताइन्।
बैठकमा यसअघि सर्वदलीय बैठकले तय गरेका नौबुँदे निर्णयको कार्यान्वयन अवस्थाबारे पनि समीक्षा गरिएको थियो। ती निर्णयमध्ये कति कार्यान्वयन भए र कति बाँकी छन् भन्नेबारे छलफल गर्दै आगामी रणनीति तय गरिएको थापाले बताइन्।
त्यस्तै, सत्तापक्षका सभापतिले संसद्मा प्रस्ताव गरेको संसदीय विशेष समिति गठनको विषयमा पनि विपक्षी दलहरूले चासो देखाएका छन्। समिति गठनको प्रक्रिया ढिला भइरहेको भन्दै थापाले यसलाई छिटो अघि बढाउन माग गरिन्।
सरकार र स्थानीय तहको सहकार्यमा भइरहेको राहत वितरणप्रति थापाले सन्तोष व्यक्त गरिन्। तर राहत वितरणलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन्। सबै काम सरकारले मात्रै गर्न नसक्ने भएकाले राजनीतिक दल, स्थानीय तह र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
राहत वितरणमा भएको ढिलाइप्रति भने थापाले असन्तुष्टि जनाइन्। बाढी–पहिरोपछि सुरुवाती दिनमा राहत सामग्री जम्मा भए पनि आवश्यक परेका पीडितसम्म समयमा पुग्न नसकेको अवस्था देखिएको उनले बताइन्।
स्थानीय तहका जनप्रतिनिधि आफैँ बाढी–पहिरोका कारण मानसिक दबाबमा रहेकाले प्रदेश र संघ सरकारले राहत तथा उद्धारमा थप सहयोग गर्नुपर्ने थापाले बताइन्।
सरकारले गरेका सकारात्मक काममा विपक्षी दलको सहयोग रहने तर कमजोरी देखिएका ठाउँमा खबरदारी गरिरहने उनले बताइन्।