भदौ १९ , काठमाडौं ।राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रममार्फत ज्यान जोखिममा परेका दुई महिलाको हेलिकप्टरबाट उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित उक्त कार्यक्रममार्फत सुत्केरीपछिको अत्यधिक रक्तस्राव र गर्भमा शिशुको मृत्यु भएपछि गम्भीर अवस्थामा पुगेका दुई महिलाको उद्धार गरिएको हो।
मन्त्रालयका अनुसार साउन १८ गते संखुवासभाको खाँदबारी नगरपालिका–१ की ३३ वर्षीया प्रभा ढुंगाना नवजात शिशु जन्माएपछि अत्यधिक रक्तस्रावका कारण गम्भीर अवस्थामा पुगेकी थिइन्। चिकित्सकको सिफारिसमा उनलाई तत्काल हेलिकप्टरमार्फत काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ल्याइएको थियो। उनको विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, साउन १९ गते जुम्लाको चन्दननाथ नगरपालिकाकी २८ वर्षीया काशीकला धराला गर्भमा रहेको शिशुको मृत्यु भएपछि ज्यान जोखिममा पर्ने अवस्थामा पुगेकी थिइन्। चिकित्सकको सिफारिसपछि उनलाई तत्काल हेलिकप्टरमार्फत सुर्खेत प्रादेशिक अस्पताल पुर्याइएको र विशेषज्ञ उपचार सुरु गरिएको मन्त्रालयले जनाएको छ।
दुर्गम तथा यातायातको पहुँच कठिन भएका क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक अवस्थामा समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रममार्फत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन हुँदै आएको छ।
मन्त्रालयका अनुसार यस्तो सेवाले मातृ मृत्युदर घटाउन, सुरक्षित मातृत्व प्रवर्द्धन गर्न तथा दुर्गम क्षेत्रका महिलाको जीवन जोगाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
Share this with your friends: