भदौ २५, काठमाडौं । भारतको उत्तर प्रदेशमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले सन् २०२७ को विधानसभा निर्वाचनको तयारी तीव्र बनाइरहेका बेला मुख्यमन्त्री योगी आदित्यनाथले युवा र महिलासँग प्रत्यक्ष जोडिन सरकारी योजनालाई माध्यम बनाउने रणनीति अघि सारेका छन्।
भाजपाका शीर्ष नेताहरूले निर्वाचनलाई लक्षित गर्दै बुथ तहसम्म संगठन विस्तार र रणनीति निर्माण गरिरहेका छन्। यही क्रममा मुख्यमन्त्री योगीले सरकारका विभिन्न कल्याणकारी योजनामार्फत युवा तथा महिलालाई जोड्ने प्रयास थालेका हुन्।
सरकारका महिला केन्द्रित योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लाभग्राहीसँग प्रत्यक्ष सम्पर्क बढाउने रणनीति अपनाइएको बताइएको छ। महिलाका लागि सञ्चालन भइरहेका सामाजिक सुरक्षा, आर्थिक सहायता, शिक्षा, रोजगारी तथा आत्मनिर्भरता सम्बन्धी कार्यक्रमलाई निर्वाचनपूर्व जनसम्पर्कको महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गर्न खोजिएको छ।
युवा र महिलालाई ठूलो मतदाता समूहका रूपमा हेर्दै भाजपा नेतृत्वले उनीहरूबीच सरकारका योजनाको प्रभाव र पहुँच बढाउने प्रयास गरिरहेको छ। आगामी विधानसभा निर्वाचनमा सरकारका उपलब्धि र कल्याणकारी कार्यक्रमलाई प्रमुख चुनावी मुद्दाका रूपमा प्रस्तुत गर्ने तयारीसमेत भइरहेको छ।
Share this with your friends: