भदौ २२, काठमाडौं । सामसुङ मेडिसनले महिलाको स्वास्थ्य परीक्षणका लागि कृत्रिम बुद्धिमत्ता प्रविधिमा आधारित नयाँ प्रिमियम अल्ट्रासाउन्ड प्रणाली ‘हेरा जेड१०’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो प्रणालीले गर्भावस्था तथा स्त्रीरोगसम्बन्धी परीक्षणलाई अझ प्रभावकारी, छिटो र सटीक बनाउन सहयोग गर्नेछ।
दक्षिण कोरियामा सेप्टेम्बर ७ मा सार्वजनिक गरिएको हेरा जेड१०, सामसुङ मेडिसनको हेरा जेड सिरिजको नयाँ उपकरण हो। यससँगै हेरा जेड सिरिजमा हेरा जेड२० र हेरा जेड१० गरी दुईवटा प्रणाली समावेश भएका छन्।
कम्पनीका अनुसार हेरा जेड१० मा एआईमा आधारित कार्यप्रवाह र उन्नत ‘बिमफर्मिङ’ प्रविधि प्रयोग गरिएको छ। यसले अल्ट्रासाउन्ड तस्बिरलाई स्पष्ट बनाउन तथा चिकित्सकलाई परीक्षणका क्रममा आवश्यक मापन र विश्लेषण गर्न सहयोग पुर्याउनेछ।
यसको ‘लाइभ भ्युअसिस्ट’ प्रविधिले गर्भावस्थाको मध्य चरणमा गरिने विस्तृत अल्ट्रासाउन्ड परीक्षणको समय ५२ प्रतिशतसम्म घटाउन सक्ने कम्पनीले जनाएको छ। त्यस्तै, ‘इजस्ट्रक्चर’ प्रविधिले प्रमुख मापनका लागि गर्नुपर्ने म्यानुअल कामलाई ७१ प्रतिशतसम्म घटाउन सक्ने बताइएको छ।
उच्च जोखिमयुक्त गर्भावस्थाका लागि पनि प्रणालीमा एआईमा आधारित सुविधा थपिएको छ। ‘एमभी–फ्लो थ्रीडी’ प्रविधिले सूक्ष्म रक्तप्रवाहलाई उच्च स्पष्टतामा देखाउन सहयोग गर्छ। यसबाट प्लासेन्टा एक्रिटा तथा पाठेघर वा नालका असामान्य रक्तनली पहिचानमा चिकित्सकलाई सहयोग पुग्ने कम्पनीको दाबी छ।
त्यस्तै, ‘फाइब्राइडभ्यु’ प्रविधिले पाठेघर, गर्भाशयको भित्री तह तथा पाठेघरमा हुने फाइब्राइडलाई स्वचालित रूपमा छुट्याएर देखाउन र मापन गर्न सहयोग गर्छ।
सामसुङ मेडिसिनले सेप्टेम्बर ४ देखि ७ सम्म बेलायतको लन्डनमा आयोजित अन्तर्राष्ट्रिय प्रसूति तथा स्त्रीरोग अल्ट्रासाउन्ड समाजको विश्व सम्मेलनमा हेरा जेड सिरिज प्रदर्शन गरेको थियो। कम्पनीले नयाँ प्रणालीमार्फत भ्रूणदेखि आमासम्मको स्वास्थ्य हेरचाहलाई एउटै डिजिटल तथा एआई–सहायित प्लेटफर्मबाट सहयोग गर्ने लक्ष्य राखेको जनाएको छ।