भदौ २५, काठमाडौं । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रतिनिधित्व नभएका कारण कानुन निर्माण गर्न नसकिएको भन्ने कानुनमन्त्री सोबिता गौतमको भनाइप्रति प्रश्न उठाएकी छन्।
बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद कर्णले राष्ट्रिय सभाका कारण कुन–कुन कानुन निर्माण हुन सकेनन् भन्ने स्पष्ट पार्न मन्त्री गौतमसँग माग गरिन्।
केही दिनअघि मन्त्री गौतमले राष्ट्रिय सभामा रास्वपाको बहुमत नभएका कारण जनताले चाहेजस्तो कानुन बनाउन नसकिएको बताएकी थिइन्। त्यसप्रति प्रतिक्रिया दिँदै कर्णले मन्त्रीले आफ्नो कमजोरी ढाक्न राष्ट्रिय सभालाई दोष दिएको आरोप लगाइन्।
कर्णले भनिन्, “राष्ट्रिय सभाको कारण, प्रतिनिधिसभाको कारण वा कुन निकायको कारण कानुन बनाउन सकिएन रु कुन–कुन कानुन बनाउन रोकियो, त्यसको जवाफ दिनुपर्छ।”
बैठकमा उनले अदालतले फैसला गरे पनि त्यसको कार्यान्वयनमा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्।
उनले देशमा विभिन्न तहका अदालत हुँदाहुँदै पनि नागरिकले समयमा न्याय पाउन नसकेको बताइन्। मुद्दाको सुनुवाइ पटक–पटक सर्दा न्याय पाउने प्रक्रिया झन् लामो भइरहेको उनको भनाइ थियो।
कर्णले फैसला कार्यान्वयनमा देखिएको समस्या समाधान गर्न आवश्यक कानुन बनाउन सरकार गम्भीर हुनुपर्ने बताइन्। उनका अनुसार अदालतबाट फैसला भएपछि पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुनु पीडित नागरिकका लागि गम्भीर समस्या हो।
उनले न्याय पाउने प्रक्रिया लामो हुँदा नागरिकमा राज्यप्रति विश्वास कमजोर हुन सक्ने भन्दै छिटो न्याय र फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारको ध्यान जानुपर्नेमा जोड दिइन्।