भदौ २८, काठमाडौं । अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा विभाजन गरिने तथा पोसाकसम्बन्धी नयाँ नियम लागु गरिने तालिबानले जनाएको छ।
उच्च शिक्षासम्बन्धी मामिला हेर्ने मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने जनाएका छन्। उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि घोषणा गरेका छन्।
सन् १९९६ देखि २००१ बीचमा तालिबान शासनका बेला अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो। तालिबानले महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ।
तर गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएसँगै तालिबानले सुरक्षा अवस्थामा सुधार नआएसम्म जनस्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न भनेको छ। आफ्नो शासनको सुरुवातको सङ्केत गर्नका लागि तालिबानले राष्ट्रपति भवनमा आफ्नो झण्डा फहराएको भोलिपल्ट तालिबानको उच्च शिक्षासम्बन्धी नीति घोषणा गरिएको हो।
तालिबानले एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएको थियो।
सङ्केत
पछिल्लो नीतिले अफगानिस्तानमा तालिबान शासनसँगै व्याप्त परिवर्तनको सङ्केत गरेको छ। यसअघि छात्राहरूले पोसाकसम्बन्धी नियम पालना गर्नुपर्ने थिएन र महिला/पुरुष एकै कक्षामा पढ्न पाउँथे।
अहिलेको परिवर्तनसम्बन्धी विषयमा हक्कानीले भने, 'मिश्रित शिक्षा प्रणाली अन्त्य गर्न हामीलाई कुनै समस्या छैन। जनता मुस्लिम हुन् र उनीहरूले यसलाई स्वीकार गर्नेछन्।'
विश्वविद्यालयहरूसँग महिला र पुरुषका लागि छुट्टै कक्षा उपलब्ध गराउने स्रोत नरहेकाले केहीले पछिल्लो नियमले महिलाहरूलाई शिक्षाबाट वञ्चित गर्ने सङ्केत गरेका छन्।
तर हक्कानीले भने पर्याप्त महिला शिक्षकहरू रहेको र उपलब्ध नरहेका स्थानमा वैकल्पिक उपाय पहिचान गरिने बताए। 'यो सबै विश्वविद्यालयहरूको क्षमतामा निर्भर रहन्छ,' उनले भने।
'पुरुष शिक्षकहरूलाई पर्दा पछाडिबाट पढाउनेगरी प्रयोग गर्न सकिन्छ वा प्रविधिको प्रयोग गर्न सकिन्छ।' छात्रछात्रालाई प्राथमिक र माध्यमिक तहका विद्यालयमा पनि अलग्गै पढाइनेछ। यस्तो अवस्था विगतमा अफगानिस्तानमा सामान्य थियो।
- बीबीसी