साउन १३ , काठमाडौं । स्ट्रेलियाको ‘अफिस फर वुमेन’ले हालै वार्षिक ‘नेशनल वुमेन्स एलायन्स फोरम’ आयोजना गर्दै देशभरका महिला सम्बन्धी प्रमुख मुद्दाहरूमा व्यापक छलफल गरेको छ। उक्त फोरममा पाँचवटा राष्ट्रिय महिला गठबन्धनका प्रतिनिधिहरू सहभागी भएका थिए।
फोरमले महिला समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयहरूमा नीति निर्माणका लागि महत्त्वपूर्ण मञ्च प्रदान गरेको बताइएको छ। सहभागीहरूले आफ्ना अनुभव, अनुसन्धानमा आधारित तथ्यहरू तथा समुदायबाट आएका सुझावहरू प्रस्तुत गर्दै सरकारलाई प्रभावकारी नीति बनाउन सहयोग पुर्याएका छन्।
विशेषगरी ‘महिला तथा बालबालिकाविरुद्ध हिंसा अन्त्य गर्ने राष्ट्रिय योजना २०२२–२०३२’ को आगामी चरण, रोजगारी सेवा सुधार, कामको बदलिँदो स्वरूप तथा हेरचाह सम्बन्धी जिम्मेवारीका विषयमा गहन छलफल भएको थियो। सहभागीहरूले महिलामाथि हुने हिंसा न्यूनीकरण, सुरक्षित कार्यस्थल सुनिश्चितता र आर्थिक अवसर विस्तारमा थप ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय महिला गठबन्धनहरूले विभिन्न पृष्ठभूमिका महिलाहरूका अनुभव र आवाजलाई राष्ट्रिय नीति तहसम्म पुर्याउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनीहरूको सुझाव र सिफारिसले अस्ट्रेलिया सरकारको ‘वर्किङ फर वुमेनस् लैंगिक समानताको रणनीति’ कार्यान्वयनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
विश्लेषकहरूका अनुसार यस्ता फोरमहरूले महिला केन्द्रित नीतिलाई अझ समावेशी, व्यवहारिक र प्रभावकारी बनाउन मद्दत पुर्याउनेछन्। साथै, महिला सशक्तीकरण र लैंगिक समानता प्रवर्द्धनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।