web image
भदौ १ , काठमाडौं । अमेरिकी टेलिभिजन सिरिज ‘हिरोज’ र ‘न्यास्भिल’बाट विश्वभर परिचित अभिनेत्री हेडन पानेन्टिएरको ३६ वर्षको उमेरमा निधन भएको छ। उनको दक्षिण क्यारोलिनामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनका बुबा स्किप पानेन्टिएरले विज्ञप्तिमार्फत छोरीको निधनको पुष्टि गरेका छन्। यद्यपि, मृत्युको कारणबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन।
परिवारले जारी गरेको वक्तव्यमा हेडनलाई असाधारण प्रतिभाकी धनी र सकारात्मक ऊर्जाले भरिएकी कलाकारका रूपमा स्मरण गरिएको छ। परिवारले शोकको यस घडीमा गोपनीयताको सम्मान गर्नसमेत आग्रह गरेको छ।
सन् १९८९ अगस्ट २१ मा न्युयोर्कमा जन्मिएकी हेडनले ११ महिनाको उमेरमै विज्ञापनमार्फत अभिनय यात्रा सुरु गरेकी थिइन्। बाल कलाकारका रूपमा उनले करिब ५० वटा विज्ञापनमा अभिनय गरेकी थिइन्।
सन् २००० मा प्रदर्शन भएको ‘रिमेम्बर द टाइटन्स’ फिल्ममा उनले चर्चित अभिनेता डेन्जल वाशिंगटनसँग अभिनय गरेकी थिइन्। त्यसपछि एनबीसीको चर्चित सिरिज ‘हिरोज’ मा निर्वाह गरेको भूमिकाले उनलाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गराएको थियो।
उनले ‘न्यास्भिल’ सिरिजमार्फत पनि दर्शकमाझ छुट्टै पहिचान बनाएकी थिइन्। अभिनय यात्राका क्रममा उनी दुई पटक गोल्डेन ग्लोब अवार्डका लागि मनोनीत भएकी थिइन्।
हेडनले मानसिक स्वास्थ्यका विषयमा खुलेर आफ्ना अनुभव साझा गर्ने गरेकी थिइन्। सन् २०१५ मा उनी व्यक्तिगत स्वास्थ्य समस्याका कारण उपचारका लागि पुनर्स्थापना केन्द्रमा गएकी थिइन्।
उनको निधनसँगै हलिउडले एक चर्चित र प्रतिभाशाली अभिनेत्री गुमाएको छ।
Share this with your friends: