साउन ११ , काठमाडौ । विश्वका विभिन्न द्वन्द्वग्रस्त तथा संक्रमणकालीन देशहरूमा महिलाहरूले शान्ति निर्माणको प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गर्न थालेका छन्। विशेषगरी कोलम्बिया, लेबनान र मलावीमा महिलाहरूले संवाद, मध्यस्थता र न्यायमा आधारित पहलमार्फत दीगो शान्ति स्थापना गर्ने प्रयासलाई अघि बढाइरहेका छन्।
स्थानीय स्तरमा महिलाहरूले समुदायबीच संवाद गराउने, द्वन्द्व समाधानमा सहजीकरण गर्ने र पीडितहरूका लागि न्याय सुनिश्चित गर्न पहल गरिरहेका छन्। उनीहरूको सक्रिय सहभागिताले सामाजिक सद्भाव बढाउन तथा हिंसात्मक द्वन्द्व न्यूनीकरण गर्न महत्वपूर्ण योगदान दिएको अन्तर्राष्ट्रिय निकायहरूले बताएका छन्।
विशेषगरी महिलाहरूले नेतृत्व गरेको शान्ति पहलहरू अधिक समावेशी, दिगो र समुदायकेन्द्रित हुने देखिएको छ। उनीहरूले लैंगिक समानता, मानव अधिकार र न्यायको मुद्दालाई प्राथमिकतामा राख्दै शान्ति प्रक्रियालाई दीर्घकालीन बनाउने काम गरिरहेका छन्।
विश्लेषकहरूका अनुसार, महिलाको सहभागिता बिना शान्ति प्रक्रिया अपूर्ण रहने भएकाले नीति निर्माण तहमा समेत उनीहरूको प्रतिनिधित्व बढाउन आवश्यक छ। यसले मात्र दीगो शान्ति र विकास सुनिश्चित गर्न सक्ने निष्कर्ष निकालिएको छ।