web image
भदौ २, काठमाडौं । कोलम्बियाली पपस्टार शाकिराले विनाशकारी भूकम्पबाट प्रभावित आफ्नो देशको दुर्गम चोको प्रान्तमा कम्तीमा १० वटा विद्यालय पुनर्निर्माण गर्ने घोषणा गरेकी छन्। उनले प्रभावित एक स्थानीय प्राविधिक विश्वविद्यालयको पुनर्निर्माणमा समेत आर्थिक सहयोग गर्ने बताएकी छन्।
भूकम्प प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन शाकिरा चोको प्रान्तको राजधानी क्विबडो पुगेकी थिइन्। भ्रमणका क्रममा उनले क्षतिग्रस्त विद्यालयहरूको निरीक्षण गर्नुका साथै विद्यार्थी र स्थानीय बासिन्दासँग भेट गरेकी थिइन्।
‘हिप्स डन्ट लाइ’की गायिका शाकिराले भूकम्पपछि विद्यालयहरू पुनर्निर्माण नहुँदा बालबालिकाको शिक्षामा परेको असरप्रति चिन्ता व्यक्त गरिन्। उनले बालबालिकाले विद्यालय जान नपाउने प्रत्येक दिन उनीहरूको भविष्यमा असर पर्ने बताइन्।
शाकिराको फाउन्डेसन ‘फुन्डासिओन पिएस देस्साल्सोस’ र हावर्ड जी। बफेट फाउन्डेसनले १० विद्यालय पुनर्निर्माणका लागि सहकार्य गर्ने भएका छन्। भ्रमणमा अर्बपति वारेन बफेटका छोरा तथा कोलम्बियामा शिक्षा क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएका हावर्ड बफेट पनि शाकिरासँगै थिए।
शाकिराले विभिन्न संस्थाबाट प्राप्त सहयोगबारे पनि जानकारी दिइन्। उनका अनुसार फिफा ग्लोबल सिटिजन एजुकेसन फण्ड र लाइभ नेसनबाट ५–५ लाख अमेरिकी डलर तथा क्यानडा र क्यारिबियन विकास बैंकबाट २ लाख ५० हजार अमेरिकी डलर सहयोग प्राप्त भएको छ।
उनले स्थानीय समुदायप्रति ऐक्यबद्धता जनाउँदै भनिन्, “जबसम्म प्रत्येक कोलम्बियन सामान्य जीवनमा फर्कन सक्दैनन् र सबै बालबालिका आफ्ना विद्यालयमा फर्किन सक्दैनन्, तबसम्म हाम्रो प्रयास जारी रहनेछ। चोकोलाई हामी अलपत्र छोड्ने छैनौँ।”
गत अगस्ट १० मा पश्चिमी कोलम्बियामा गएको ७।४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको थियो। सरकारी तथ्यांकअनुसार भूकम्पमा कम्तीमा २८७ जनाको मृत्यु भएको, २६ हजारभन्दा बढी घर ध्वस्त भएको र १९४ जना अझै बेपत्ता रहेको बताइएको छ।
भूकम्पको केन्द्रबिन्दु रहेको चोको कोलम्बियाको गरिब तथा दुर्गम क्षेत्रमध्ये एक हो। त्यहाँ कम्तीमा ३ हजार १०० घर ध्वस्त भएका छन् भने २६५ भन्दा बढी शैक्षिक स्थल प्रभावित भएका छन्। दुर्गम भूगोल र कमजोर यातायात तथा सञ्चार सुविधाका कारण राहत तथा पुनर्निर्माण कार्यमा थप चुनौती देखिएको छ।
Share this with your friends: