असोज १८ , काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले सुशासन, संविधान र विधिको शासनको सीमाभन्दा बाहिर जाने जोसुकै शक्तिविरुद्ध आफूहरू बलियो रूपमा उभिने बताएकी छन्।
कांग्रेसको १५औँ महाधिवेशनको तयारी भइरहेका बेला सहमहामन्त्री पदकी आकांक्षी भुसालले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानुनी शासनको संरक्षण अहिलेको प्रमुख आवश्यकता रहेको बताएकी हुन्।
उनले राजनीतिक दल र नेतृत्व जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्नुपर्ने धारणा राखेकी छन्।
भुसालले संविधानको मर्म र लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्ने गतिविधि स्वीकार्य नहुने बताउँदै त्यस्ता प्रवृत्तिविरुद्ध राजनीतिक रूपमा दृढताका साथ प्रतिरोध गर्नुपर्नेमा जोड दिएकी छन्।
उनको भनाइ कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा र लोकतान्त्रिक अभ्यासबारे बहस भइरहेका बेला आएको हो।
कांग्रेसभित्र महिला नेतृत्वको प्रतिनिधित्व र भूमिकालाई थप प्रभावकारी बनाउने विषय पनि महाधिवेशनको महत्वपूर्ण एजेन्डा बनेको छ। सहमहामन्त्री पदमा महिला नेतृहरूको उम्मेदवारी घोषणा भइरहेका बेला भुसालको अभिव्यक्तिले पार्टीको आगामी नेतृत्वले सुशासन र संविधान कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएको छ।
उनले लोकतन्त्रलाई बलियो बनाउन संस्थागत सुशासन, संविधानको पूर्ण पालना र विधिको शासनलाई व्यवहारमै स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।