साउन १४ , काठमाडौ । एसियाली खेलकुद एसियाडमा ऐतिहासिक कास्य पदक जितेको नेपाली महिला कबड्डी टोली २०औँ संस्करणको तयारीका लागि भारत प्रस्थान गर्ने भएको छ। टोलीले हरियाणास्थित वाइब्रेन्ट इन्टरनेशनल स्कूल एन्ड कबड्डी एकेडेमी मा एक महिनासम्म प्रशिक्षण लिनेछ।
टोली बिहीबार भारत जाने कार्यक्रम रहेको छ। प्रशिक्षण अवधिमा टोलीले जयपुर र उत्तर प्रदेशमा अभ्यास खेलहरू खेल्नेछ। टोली असोज २ गते जापानतर्फ प्रस्थान गर्नेछ भने एसियाड असोज ३ गतेबाट सुरु हुनेछ।
टोलीमा कप्तान मनमती बिष्टसहित जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, मीना नेपाली, खिम्माया खात्री, गंगा घिमिरे, सिर्जना कुमारी थारु, ननुमाया पराजुली, विनिता पण्डित क्षेत्री र अस्मा यादव रहेका छन्। खिम्मायाका लागि यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ।
अनुजा कुलुङ राई भने स्वास्थ्यसम्बन्धी कारणले प्रतियोगितामा सहभागी हुन नपाउने भएकी छन्। उनको स्थानमा नयाँ खेलाडी छनोट गर्ने निर्णय चाँडै गरिने अखिल नेपाल कबड्डी संघका महासचिव अर्जुन कुमार झाले जानकारी दिएका छन्।
टोलीका प्रमुख प्रशिक्षक पार्वती राई, प्रशिक्षक लोकबहादुर बिष्ट तथा व्यवस्थापक शरद दर्शन्धारी रहेका छन्।
महिला कबड्डीमा यसपटक ८ राष्ट्र सहभागी हुनेछन्। नेपाल समूह ‘बी’ मा परेको छ, जहाँ श्रीलंका, थाइल्याण्ड र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा हुनेछ। अघिल्लो संस्करणको उपविजेता ताइपेईलाई भारतले फाइनलमा १ अंकले हराएको थियो। समूह ‘ए’ मा इरान, जापान, बंगलादेश र भारत रहेका छन्।
यो नेपाली महिला टोलीको एसियाडमा दोस्रो सहभागिता हो। टोलीले चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाडमा पहिलो पटक सहभागिता जनाउँदै ऐतिहासिक कास्य पदक जितेको थियो। उक्त टोलीका मनमती, जयन्ती, रविना, मेनुका, गंगा र सिर्जना यसपटक पनि टोलीमा समावेश छन्। पार्वती राई त्यसबेला पनि प्रमुख प्रशिक्षक थिइन्।
नेपाली महिला कबड्डी टोलीले इरानमा सम्पन्न एसियाली कबड्डी च्याम्पियनसिप र चीनमा भएको एसियन बीच गेम्समा पनि कास्य पदक जितिसकेको छ।
टोलीलाई बुधबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, कबड्डी संघका अध्यक्ष तुलसी थापा, महासचिव झा तथा राष्ट्रिय टोली तयारी निर्देशक दीपक बिष्टले बिदाइ गरेका थिए। सो अवसरमा सदस्य सचिव मेहताले टोलीबाट पुनः पदक जित्ने अपेक्षा व्यक्त गरेका थिए।