साउन २२,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालचलचित्रसम्बन्धी विद्यमान कानुन छिटोभन्दा छिटो परिमार्जन गर्ने जानकारी दिएकी छन् ।
पुरानो ऐन, नियमलाई परिमार्जन गरेर चलचित्र क्षेत्रको विकास गर्नुपर्ने भएकाले सरकारले सो कामलाई छिटो सम्पन्न गर्न लागेको मन्त्री शर्माले जानकारी दिइन् ।
मन्त्री शर्माले नेपालको चलचित्र क्षेत्रलाई विदेशी चलचित्रहरुसँग प्रतिस्पर्धा गर्नका लागि सरकारले आवश्यक नीतिगत निर्णय लिने पनि बताइन् । त्यस अवसरमा उनले चलचित्र विकास बोर्डसँग परामर्श गरेर सरकारले चलचित्रकर्मीहरुको योगदानको उचित कदर गर्ने आश्वासन समेत दिइन् ।
भुवन–चैत्य–बसुन्धरा फाउण्डेशनले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ब्लाकेनह्वाईट युगबाट सुरु भएको नेपालको चलचित्र क्षेत्र डिजिटल युगमा प्रवेश गरिसकेकाले विज्ञहरुको सुझावको आधारमा त्यससम्बन्धि कानुनलाई सरकारले परिमार्जन गर्दै अघि बढाउने योजना बनाएको पनि जानकारी दिइन् ।