मंसिर ७, काठमाडौं। २७ वर्षको उमेरमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम संसदमा प्रवेश गर्ने भएकी छन्। काठमाडौं २ बाट विजयी भएसँगै उनी प्रतिनिधिसभा सदस्य बनेर संसद प्रवेश गर्ने निश्चित भएको हो।
उनले एमालेका मणिराम फुयाललाई पराजित गर्दै विजय सुनिश्चित गरेकी हुन्। गौतमले १५ हजार २२९ मत प्राप्त गर्दा फुयाँल ११ हजार ५५५ मत प्राप्त गरे। यस्तै तेस्रो स्थानमा रहेकी राप्रपाकी कुन्तीदेवी पोखरेलले ११ हजार ४९ मत प्राप्त गरिन्। यस्तै माओवादी केन्द्रकी ओनसरी घर्ती ९ हजार ४४९ मतसहित चौथो भइन्।
सोविता पूर्वपत्रकार तथा अधिवक्ता समेत हुन्। नेपाल टेलिभिजनमा काम गर्दा गर्दै उनी राजनीतिमा प्रवेश गरेकी थिइन्। यस्तै विभिन्न सामाजिक संघसंस्थामा मुख्य भूमिकामा रही बोर्ड सञ्चालन गरेको तथा पर्यटन व्यवसाय सञ्चालन गरेको पनि अनुभव छ।