काठमाडौं। कारागारका बालबालिकालाई काठमाडौंमा आश्रय र शिक्षा दिइरहेकी पुष्पा बस्नेत ‘सीएनएन सुपर हिरो’ भएकी छन् ।
सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राकलाई पछि पार्दै पुष्पाले ‘सीएनएन सुपर हिरो’को उपाधि जितेकी छन्।
सोमबार बिहान भएको कार्यक्रममा पुष्पालाई ‘सीएनएन सुपर हिरो’ घोषित गरियो । सन् २०१२ मा उनले सीएनएन हिरोको उपाधि जितेकी थिइन् । सीएनएन हिरोको १० औं संस्करण पुगेको अवसरमा ‘सीएनएन सुपर हिरो’ आयोजना गरिएको हो ।
कारागारका बालबालिकालाई काठमाडौंको बूढानिलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले बस्नेतलाई सन् २०१२ को ‘सिएनएन हिरो’ उपाधिले सम्मान गरेको थियो ।