कात्तिक ८, बुटवल । नेकपा एमालेको प्रथम वडा अधिवेशनबाट रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ को पार्टी सचिवमा १९ वर्षीय झरना चौधरी निर्वाचित भएकी छिन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयबाटै भर्चुअल माध्यमबाट वडा अधिवेशन उद्घाटन गरेसँगै देशभरका ६ हजार ७४३ वडाको अधिवेशन भएको थियो । त्यसमध्ये चौधरी पनि वडा सचिवमा निर्वाचित भएकी हुन् ।
लुम्बिनी सांस्कृति नगरपालिका–६, पर्सा घर भएकी चौधरी सर्वसम्मत् रुपमा वडा सचिव चुनिएकी हुन् । लुम्बिनीमा जन्मिए पनि बुटवलमा आमाबुबासँगै बसेर विद्यालयदेखि उच्चमाविसम्म अध्ययनसँगै विद्यार्थी राजनीतिमा संलग्न चौधरी कम उमेरमा वडा सचिव बन्न सफल भएकी हुन् ।
बुटवलको योगीकुटीमा रहेको जनजागृति माविबाट एसएलसी पास गरेपछि बुटवलकै कालिका उच्च माविबाट कक्षा १२ पास गरेकी उनी लुम्बिनी विश्वविद्यालयमा स्नातकमा अध्ययनरत छिन्।
चौधरीले अनेरास्ववियु रुपन्देही जिल्ला कार्यसमितिको सहसचिवको जिम्मेवारी पनि सम्हालेकी छन् ।