असार ४, काठमाडौं ।एमाले सांसद सुनिता बरालले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने विरुद्धको मुद्दा फिर्ता लिएर सरकारले के गर्न खोजेको भन्दै संसदमार्फत सरकारलाई प्रश्न गरेकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले सरकारसँग जनता त्रसित भएर बाच्नु परिरहेको बताइन् ।
‘२०७७ असोज २० त्रिवि परिसरमा उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी नेविसंघका विद्यार्थीहरूले कुटेर फालेका थिए’, उनले भनिन्, ‘केही व्यक्तिले उठाएर उनलाई बचाए । ’ चलाउनेले आफूलाई कुटपिट गर्ने विरुद्ध मुद्दा हाले पनि सरकारले उक्त मुद्दा फिर्ता लिएको भन्दै उनले यो देशमा सुशासन माग्न कहाँ जाने भनेर प्रश्न गरिन् ।
‘मुद्दा चलिरहेको छ तर सरकार पटक पटक मुद्दा फिर्ता लिने निर्णय गर्छ । अव यो देशमा सुशासन माग्न कहाँ जाने हो ?अब जनता कहाँबाट सुरक्षित हुने हो? मरणासन्न हुने गरी फालिएको व्यक्तिबाट गरेको उजुरी सरकारले फिर्ता लिन्छ भने के सरकारले सबै न्यायालय बन्द गर्न खोजेको हो ?’, सांसद बरालले सभामुखमार्फत सरकारको जवाफ मागिन् । उनले जनतालाई परेका समस्यामा राज्य छैन भन्ने सन्देश दिन खोजेको पनि बताइन् ।