बैशाख ५, काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले सरकार बाहिर रहेका दल निकटका मीटरब्याज पीडितलाई सरकारले दमन गरेको आरोप लगाएकी छिन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुब्बाले आफ्नो पीडा लिएर मीटरब्याज किसानहरु भद्रकालीमा धर्ना बस्न आउँदाखेरी सरकारले टाउको फुटाउने, पानीको फोहोराले दुःख दिने काम गरेको उल्लेख गरिन् ।
उनले भनिन्,‘आफ्नो अधिकारका लागि स्वतन्त्र पूर्वक आवाज उठाउन पाउनु लोकतान्त्रिक गणतन्त्रले दिएको उपहार हो । यसमा कसैले हेपिन पर्दैन, ठगिन पर्दैन, निर्धा र कमजोरका लागि राज्य अभिभावक हो भन्ने उखान सानो हुँदा सुनेको थिएँ । आफ्नो पीडा लिएर मिटरब्याजी किसानहरु भद्रकालीमा धर्ना बस्न आउँदाखेरी सरकारले टाउको फुटाउने, पानीको फोहोराले दुःख दिने काम गरेको छ ।
सरकार नजिकाका पीडितहरुले दुई दिनमात्र आन्दोलन गर्दापनि सहमति गर्ने, समिति गर्ने, आयोग बनाउने र सहानुभूति दिने काम गर्ने तर सरकारबाहिरका दल निकटका आन्दोलनकारी रहेको थाहा पाउने बित्तिकै टाउकोमा लौरो बजाउने काम भएको छ ।’
उनले नागरिक सबैका साझा भएको बताउँदै मीटरब्याज किसानहरूको देशव्यापी अवस्थालाई हेरेर काम गर्न सरकारको ध्यानाकर्षण गराउँदै अन्यथा आन्दोलनमा जाने उल्लेख गरिन् ।