पुस १८, काठमाडौं। एन्फा राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणका खेलहरू बिहीबारदेखि सुरु हुँदै छन् । पहिलो चरणमा शीर्ष पाँच स्थानमा रहेका टोलीबिच दोस्रो चरणमा प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ । दोस्रो चरणमा एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, स्याङ्जाको वालिङ नगरपालिका र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । अन्तिम चरणमा २४ खेल हुनेछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले बागमती युथ क्लबको सामना गर्नेछ ।
कोशी प्रदेशले शीर्ष पाँच स्थानमा रहँदै दोस्रो चरण स्थान पक्का गरेको थियो । तर, कोशीले आर्थिक कारण देखाउँदै दोस्रो चरणमा सहभागिता नहुने निर्णय गरेपछि पहिलो चरणमा छैटौँ स्थानमा रहेको बागमतीले मौका पाएको हो । एन्फाले पहिलो र दोस्रो चरणमा कोशीलाई आर्थिक व्यवस्था मिलाउन भनेको थियो । तर, एन्फाले आर्थिक व्यवस्थापन नगरेपछि क्लब चरम आर्थिक संकटमा रहेको सार्वजनिक गर्दै कोशीले दोस्रो चरणमा सहभागी नहुने निर्णय गर्यो ।
त्यसपछि एन्फाले सर्लाहीको बागमती युवा क्लबलाई खेलाउने भन्यो । बुधबार भएको प्रिपोस्टमा सहभागी टोलीका कप्तानहरूले उपाधिका लागि आफूहरू तयार भएको दाबी गरेका छन् । प्रतियोगिताको साबिक विजेता एपिएफका प्रशिक्षक जिवेश पाण्डेले प्रशिक्षण निरन्तर भइरहेकाले टिम तयारी राम्रो भएको बताए । ‘हामीले दोस्रो चरणका लागि राम्रो तयारी गरौँ, यसबिच भारतको टोलीसँग पनि मैत्रीपूर्ण खेल खेल्यौँ,’ पाण्डेले भने, ‘हामीहरूको तयारीअनुसार एपिएफ दोस्रो चरण खेल्न तयार छ र खेलाडी पनि फिट छन् ।’
एपिएफले दोस्रो चरणमा गल्ती नगर्ने
एपिएफकी कप्तान अनिता बस्नेतले पनि प्रशिक्षक पाण्डेले झैँ राम्रो तयारी भएको बताइन् । ‘पहिलो चरणमा गरेका गल्ती अब दोस्रो चरणमा हुँदैन,’ बस्नेतले भनिन्, ‘अझै राम्रो प्रदर्शन गर्दै उपाधिका लागि खेल्ने योजना छ ।’ अर्को विभागीय टोली नेपाल पुलिसका प्रशिक्षक सञ्जीव जोशीले केही खेलाडी चोटका कारण उपलब्ध नभएको जानकारी दिए । ‘केही खेलाडी घाइते छन्, तर हामी लिगमा राम्रो नतिजा निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्छौँ, यसैअनुसार तयारी भएको छ,’ जोशीले भने ।
नेपाल आर्मीका प्रशिक्षक कृष्णसिंह ठगुन्नाले आफ्नो टोली उपाधि दाबेदारका रूपमा रहेको बताए । ‘हामी दाबेदार टोली हौँ, आर्मीले उपाधि जित्ने विश्वास छ,’ ठगुन्नाले भने, ‘हामीसँग राम्रा खेलाडी छन्, स्ट्राइकरबाहेक अन्य खेलाडीले उत्कृष्ट खेल्न सक्छन् ।’ आर्मीकी पुनम मगरले तयारी राम्रो भएको बताइन् । ‘पहिलो चरणा भएका गल्ती नगर्ने विश्वासका साथ प्रतिस्पर्धा गर्छौँ,’ उनले भनिन्, ‘सबै राम्रा छन्, सहभागी कुनै पनि टोली कमजोर छैनन् ।’
आर्मीले निरन्तर प्रशिक्षण गरिरहेका कारण खेलाडी फर्ममा रहेको उनको भनाइ छ । राष्ट्रिय महिला लिगको पहिलो चरणमा रौतहटको चन्द्रपुर नगरपालिका, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा संकटा क्लबले पहिलो चरणमा प्रतिस्पर्धा गरेका थिए ।
दशरथ रंगशालामा चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल हुँदै
एन्फाले आगामी फागुनमा चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । दशरथ रंगशालामा ५ फागुनदेखि नेपालको महिला राष्ट्रिय टोलीसहित किर्गिस्तान, लेबनान र म्यानमारबिच अन्तर्राष्ट्रिय खेल हुने एन्फाले जनाएको छ । यो प्रतियोगिता १४ फागुनसम्म हुनेछ । एन्फाले खेलहरू फिफा विन्डोमा गर्न लागेको हुँदा सबै खेलले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछन् । गत कात्तिकमा दशरथ रंगशालामा साफ महिला च्याम्पिनसिपमा भएको थियो । नेपाल प्रतियोगितामा पुगे पनि बंगलादेशसँग पराजित भएको थियो ।