साउन ३०, काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।
उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ ।
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको बताए ।
बोर्डले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.meb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ ।