असोज १५ काठमाडौं । अस्ट्रेलियाकी सञ्चारमन्त्री अनिका वेल्स टाइम म्यागजिनको सन् २०२६ को ‘टाइम१०० नेक्स्ट’ सूचीमा विश्वका प्रभावशाली उदाउँदा व्यक्तित्वमध्ये समावेश भएकी छन्। बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा नियमन तथा ठूला प्रविधि कम्पनीमाथि नियमनका प्रयासमा उनको भूमिकालाई सूचीमा समेटिनुको प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ।
अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा लगाइएको प्रतिबन्ध गत वर्षदेखि कार्यान्वयनमा आएको थियो। उक्त व्यवस्थाले अन्तर्राष्ट्रिय ध्यानसमेत आकर्षित गरेको छ। युरोप, एसिया र अमेरिकाका केही राज्यले पनि यस्तै प्रकारका व्यवस्था लागू वा प्रस्ताव गरेका छन्।
टाइम१०० नेक्स्टमा वेल्सको परिचयसँगै अस्ट्रेलियाकी पूर्वप्रधानमन्त्री जुलिया गिलार्डले उनको कामबारे प्रशंसात्मक टिप्पणी गरेकी छन्। गिलार्डले सामाजिक सञ्जालबाट बालबालिकालाई हुन सक्ने जोखिम न्यूनीकरणका लागि वेल्सले अघि सारेका सुधारलाई उल्लेख गरेकी छन्।
वेल्सले भने आफूलाई प्राप्त भएको यो मान्यतालाई व्यक्तिगत उपलब्धिभन्दा पनि सामूहिक प्रयासका रूपमा लिएको प्रतिक्रिया दिएकी छन्। उनी सञ्चारमन्त्रीसँगै अस्ट्रेलियाकी खेलकुदमन्त्रीसमेत हुन्।
यसैबीच वेल्स डिजिटल सुरक्षासम्बन्धी ‘डिजिटल ड्युटी अफ केयर’ संरचना अघि बढाउने काममा पनि संलग्न छिन्। प्रस्तावित सुधारअन्तर्गत सामाजिक सञ्जाल प्रयोगकर्तालाई जोखिमपूर्ण वा विभाजनकारी सामग्रीतर्फ धकेल्ने एल्गोरिदमबाट बाहिरिने विकल्प दिनेलगायतका व्यवस्था समेटिएका छन्।
तर सामाजिक सञ्जाल प्रतिबन्धको प्रभावकारिता र कार्यान्वयनबारे अस्ट्रेलियामा प्रश्नसमेत उठिरहेका छन्। विपक्षी सञ्चार प्रवक्ताले प्रतिबन्धको आलोचना गर्दै यसको प्रभावकारितामाथि प्रश्न उठाएकी छन्।