असोज १६ काठमाडौं । नेपाली कांग्रेसकी नेता तथा राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल कास्की क्षेत्र नम्बर १ को अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन सकिनन्।
खुला महिलातर्फ चार जना महाधिवेशन प्रतिनिधि चयन हुने निर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। संज्ञाले २८९ मत प्राप्त गरेकी थिइन्।
खुला महिलातर्फ रेनुका गुरुङ, निसा मल्ल ठकुरी, डाल्डादेवी भुजेल र कोपिला रानाभाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
यसअघि नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको पार्टीले संज्ञा पोखरेल पौडेललाई प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरेको थियो।
राष्ट्रपतिकी छोरीलाई समानुपातिक उम्मेदवार बनाइएको भन्दै त्यसबेला आलोचना भएपछि संज्ञाले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी थिइन्।
कास्की–१ को पछिल्लो अधिवेशनको परिणामसँगै उनी महाधिवेशन प्रतिनिधिका रूपमा चयन हुन भने असफल भएकी छन्।