एजेन्सी/सिड्नी– अस्ट्रेलियाली सिनेटर लरिसा वाटर्स राष्ट्रको संसदमा स्तनपान गराउने पहिलो राजनीतिज्ञ बनेकी छिन् । ग्रिनपार्टीकी सदस्य रहेकी वाटर्सले मंगलबार आफ्नो दुई महिनाकी छोरी आलिया जोयलाई स्तनपान गराएकी थिइन् ।
गत वर्ष तल्लो सदन र सिनेटले महिला सांसदहरुलाई संसद भवनमा नै स्तनपान गराउन पाउने अनुमति दिएको थियो । तर, हालसम्म यसलाई कसैले प्रयोग गरेका थिएनन् ।
सन् २०१५ मा मन्त्री रहेकी केली ओ डायरलाई संसदीय कृयाकलापबाट बञ्चित नहुन आफ्नो बच्चालाई बोतलमा दुध भरेर खुवाउन सुझाव दिइएपछि त्यसको ठूलो आलोचना भएको थियो ।
‘संसदमा अझै धेरै महिला र अभिभावक चाहिएको छ,’ वाटर्सले फेसबुकमा लेखेकी छिन्। उनले सबैका लागि पारिवारिक र लचिलो वातावरण भएको काम गर्ने ठाउँ आवश्यक रहेको कुरा औँल्याइन् ।