साउन २९, काठमाडौं ।डा.सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी भएको छ । जनमत पार्टीकी समानुपातिक सांसद अनितादेवी साह संघीय सरकारको मन्त्रीमा नियुक्त भएकी हुन् । उनी गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा उपमहानगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।
अनिताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
गत स्थानीय तहको निर्वाचनमा जनमत पार्टीबाट टिकट पाएर जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी उनले जम्मा १ हजार ४३७ मत प्राप्त गर्दै सातौँ स्थानमा सीमित भएकी थिइन् ।
गत स्थानीय तहको निर्वाचन अघि जनमत पार्टीमा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेकी अनिता यसअघि गैरसरकारी संस्था र समाजसेवामा सक्रिय थिइन् ।
जनमत पार्टीले एक महिनाअघि नै सरकारमा सामेल गर्नका लागि अनिताको नाम प्रधानमन्त्रीलाई पठाएको थियो । माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि जनमत पार्टीकी अनितालाई सरकारमा सामेल हुने बाटो खुलेको थियो । अनिता पार्टीको सचेतक तथा केन्द्रीय सचिव समेत हुन् ।