भदौ ३१, काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज भएको घरेलु टोली नेपाल र भारतको भिडन्तमा नेपालले जित हात पारेको छ । साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १-० ले हराएर उपाधि भीडन्तसम्म पुगेको हो ।
नेपालले यो सहित पाँचौँपल्ट फाइनल खेल्ने भएको छ। उपाधिको भीडन्त सोमबार हुनेछ । अबको प्रतियोगिताले नयाँ च्याम्पियन पाउनेछ ।
यस अगाडि भारत लिग चरणमा बांग्लादेशसँग पनि पराजित भएको थियो । भारतको यो लगातार दोस्रो हार हो । यस अगाडि भारत सबै संस्करणको विजेता हो ।
नेपालको लागि ४५ औं मिनेटमा रश्मी घिसिङले निर्णयक गोल गरेकी हुन् । प्रिती राईको सटिक पासमा उनले पेनाल्टी एरियाबाट सुन्दर प्रहारमा बललाई पोस्टको दिशा दिइन् ।
पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० ले हराएको थियो । त्यसमा सबिना खातुनले ह्याट्रिक गरिन् । बंगलादेश फाइनल पुगेको यो दोस्रो पल्ट मात्र हो ।