साउन १०, काठमाडौं । तौलिहवा कपिलवस्तुकी रुकैया खातुनलाई यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णय इन्सेकले गरेको छ ।
इन्सेक कार्यसमितिको २०८० साउन ९ गतेको बैठकले शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील ४५ वर्षीया खातुनलाई २९ औं प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।
इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्याएको योगदानको स्मरण गर्दै इन्सेकले ‘प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ ।
पुरस्कारको राशी ५० हजार नगद र सम्मानपत्र छ ।प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थितिमा यस वर्षको सम्मान यही साउन १६ गते ललितपुरको स्टाफ कलेजमा आयोजना हुने कार्यक्रममा गरिने इन्सेकले बताएको छ ।