साउन २२ , काठमाडौं । पछिल्लो दुई दशकमा नेपालले किशोरी गर्भधारण र प्रसूति दरमा उल्लेखनीय सुधार गर्दै ३५ प्रतिशतले घटाएको नयाँ अध्ययनले देखाएको छ। समान सामाजिक–आर्थिक अवस्था भएका भारत लगायतका धेरै देशहरूलाई पछाडि पार्दै नेपालले यो उपलब्धि हासिल गरेको हो।
‘इम्प्रुभमेन्ट्स इन एडोलेसेन्ट सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ एन्ड राइट्स इन नेपाल’ शीर्षकको प्रतिवेदन अनुसार सन् २००१ मा प्रति १,००० किशोरी ९१५–१९ वर्ष० मा ११० जन्म रहेकोमा सन् २०२२ मा यो घटेर ७१ मा झरेको छ। त्यस्तै, किशोरी गर्भधारण दर पनि ५६ प्रतिशतबाट घटेर १४ प्रतिशतमा सीमित भएको छ।
यो अध्ययन ‘सेन्टर फर रिसर्च अन इन्भाइरोन्मेन्ट हेल्थ एन्ड पपुलेसन एक्टिभिटिज , ‘अफ्रिकन इन्स्टिच्युट फर पॉलिसी डेभलपमेन्ट र ‘एक्जेम्प्लार्स इन ग्लोबल हेल्थले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा। महेश पुरीका अनुसार सशस्त्र द्वन्द्व, राजनीतिक अस्थिरता, विनाशकारी भूकम्प र कोभिड–१९ महामारीजस्ता चुनौतीका बाबजुद नेपालले उल्लेखनीय प्रगति गरेको हो।
उक्त अध्ययन बहुदेशीय परियोजनाअन्तर्गत सञ्चालन गरिएको हो, जसमा क्यामरुन, घाना, रुवान्डा, मलावी, भारत र नेपाल समावेश छन्। यसले किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा उल्लेखनीय सुधार गरेका देशहरू पहिचान गर्ने उद्देश्य राखेको छ। दक्षिण एशियामा नेपाललाई ‘पोजेटिभ आउट्लायर’ अर्थात् अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्ने देशका रूपमा चिनाइएको छ।
तर प्रगति समान रूपमा नभएको अध्ययनले देखाएको छ। आर्थिक अवस्था, शिक्षा, धर्म, भौगोलिक क्षेत्र र जातीय आधारमा ठूलो असमानता देखिएको छ। धनी परिवारका किशोरीमा गर्भधारण दर न्यून रहेको छ भने गरिब परिवारका किशोरीमा उच्च देखिएको छ।
त्यस्तै, औपचारिक शिक्षा नभएका वा प्राथमिक तहसम्म मात्र पढेका किशोरीहरूमा गर्भधारणको सम्भावना बढी रहेको छ। दलित र मुस्लिम समुदायका किशोरीहरूमा गर्भधारण दर ब्राह्मण समुदायभन्दा उच्च देखिएको छ। मुस्लिम समुदायमा यो दर २०१६ देखि २०२२ सम्म २३ प्रतिशतमै स्थिर रहेको छ, जुन धार्मिक समूहमध्ये सबैभन्दा उच्च हो।
प्रदेशगत रूपमा मधेश र कर्णाली प्रदेशमा किशोरी गर्भधारण दर उच्च रहेको छ, जसले देशभर समान प्रगति नभएको संकेत गर्छ।
यता, अनपेक्षित जन्म भने बढेको देखिएको छ। सन् २००१ मा २५ प्रतिशत रहेको यस्तो जन्मदर सन् २०२२ मा बढेर ३१ प्रतिशत पुगेको छ। धनी परिवारका किशोरीहरूमा करिब ४० प्रतिशत अनपेक्षित जन्म देखिएको अध्ययनले जनाएको छ।
शहरी क्षेत्रमा पनि यस्तो दर ग्रामीण क्षेत्रभन्दा केही बढी रहेको छ—३२ प्रतिशत बनाम २८ प्रतिशत। प्रदेशगत रूपमा गण्डकीमा सबैभन्दा उच्च ३७ प्रतिशत अनपेक्षित जन्म देखिएको छ भने मधेशमा २२ प्रतिशत रहेको छ।
संयुक्त राष्ट्र जनसंख्या कोष को ‘सिइङ द अनसिन’ २०२२ प्रतिवेदन अनुसार नेपालमा करिब आधा गर्भधारण अनपेक्षित हुन्छन् र तीमध्ये करिब ६० प्रतिशत गर्भपतनमा अन्त्य हुन्छ।